२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा



अ+ अ-

काठमाडाैँ । चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो । “सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर झाडी फँडानी गर्न अनुमति दिइएको हो”, उहाँले भन्नुभयो ।

निकुञ्जभित्रका वन्यजन्तु तथा मुख्य वनस्पतिमा असर नपर्ने गरी आवश्यक क्षेत्रको मात्र झाडी फँडानी गर्न अनुमति दिइएको थापामगरले बताउनुभयो । सडक डिभिजन कार्यालयले झाडी सफाइसँगै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा आवश्यक मर्मतसम्भारको कामसमेत सुरु गरेको छ ।

माडी आवतजावत गर्ने मुख्य सडकका रूपमा रहेको उक्त सडकमा वर्षायाममा सडक छेउछाउमा झाडी बढ्ने गरेकाले सवारी चालकलाई वन्यजन्तु देख्न कठिन हुने गरेको छ । झाडी सफाइपछि सडकको दृश्यता बढ्नुका साथै वन्यजन्तु र यात्रु दुवैको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।