काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकार गठन भएको चार महिनामै पूर्ण मूल्याङ्कन गर्ने समय नभए पनि जनअपेक्षाअनुसार केही सकारात्मक परिवर्तनको संकेत देखिनुपर्ने बताएका छन् ।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा बोल्दै लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनप्रति नागरिकबाट आएका सुझाव र गुनासालाई पार्टीले गम्भीरतापूर्वक सुनिरहेको बताए ।
उनले सरकारबाट अपेक्षित परिवर्तनको स्पष्ट आभास नदेखिएकोप्रति नागरिकका सुझावलाई आफूहरूले मनन गरेको उल्लेख गरे । यद्यपि, चार महिनाको अवधिमै सरकारको समग्र मूल्याङ्कन गरिहाल्नु उचित नहुने उनको भनाइ थियो ।
लामिछानेले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई हवाई उडानसँग तुलना गर्दै सरकारको यात्रामा कहिलेकाहीँ ‘टर्ब्युलेन्स’ आए पनि गन्तव्य सुरक्षित रहेको दाबी गरे ।
‘हामीले भर्खरै सरकार बनाएका छौँ र ऐतिहासिक जनमत प्राप्त गरेका छौँ । त्यसैले चार महिनामै सरकारको मूल्याङ्कन गरिहाल्ने समय भइसकेको छैन,’ उनले भने, ‘तर यो अवधिमा केही छनक देखाउन सक्नुपथ्र्यो भन्ने तपाईंहरूको सुझावलाई हामीले मनन गरेका छौँ ।’
नागरिकलाई वर्तमान अवस्थाबाट चिन्तित नहुन आग्रह गर्दै उनले सरकार गन्तव्यतर्फ अघि बढिरहेको बताए । ‘गन्तव्यतर्फ अघि बढिरहेको हाम्रो उडानमा कहिलेकाहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ,’ उनले भने, ‘सिट ब्याक एन्ड रिल्याक्स, फास्टेन योर सिट बेल्ट । हामी तपाईंहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउँछौँ ।’
रास्वपामा समाज परिवर्तनको हुटहुटी भएका युवा तथा विभिन्न क्षेत्रका पेशेवर व्यक्तिहरूको समूह रहेको उल्लेख गर्दै लामिछानेले अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व पार्टीसँग रहेको दाबी गरे ।
गैरराजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ तथा पेशेवरहरू परिवर्तनका लागि एकजुट हुनु देशका लागि दुर्लभ अवसर भएको उनको भनाइ थियो ।
लामिछानेले वर्तमान सरकार कुनै दल वा समूहको मात्र नभई नागरिककै सरकार भएको दाबीसमेत गरे । इतिहासले दिएको अवसरलाई नागरिकसँग सहकार्य गरेर देश निर्माणमा उपयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘यो हाम्रो मात्र सरकार होइन, यो तपाईंहरूको सरकार हो,’ उनले भने, ‘इतिहासले दिएको यो अवसरलाई तपाईँहरूसँग सहकार्य गर्दै देश निर्माणमा सदुपयोग गर्न चाहन्छौँ ।’











