काठमाडाैँ । ढल्केवरस्थित ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीय स्तरमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समिति’ले उक्त निर्णयविरुद्ध चरणवद्ध विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।
संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । ढल्केवर ट्रमा सेन्टर स्थानीयवासीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएको उल्लेख गर्दै नगरप्रमुख एवं समितिका संयोजक महतोले जनभावनाविपरीत गरिएको निर्णय स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
.
समितिले आफ्ना मागहरू सम्बोधन नभए सडक आन्दोलन, धर्ना र रिले अनशनलगायतका थप दबाबमूलक कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ । स्थानीयको स्वास्थ्य अधिकार रक्षाका लागि कुनै पनि हालतमा पछि नहट्ने अडान संघर्ष समितिले दोहो¥याएको छ ।











