काठमाडाैँ । अन्तर्राष्ट्रिय पहिचान र धार्मिक–सांस्कृतिक गौरवको केन्द्र लुम्बिनीमा व्यापक आर्थिक अनियमितता, भ्रष्टाचार र पुरातात्विक सम्पदाको विनाश भइरहेको भन्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले आपत्ति जनाएको छ ।
सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका प्रतिनिधिहरूले लुम्बिनी विकास कोषको विकृति र सरकारको उदासीनताप्रति आलोचना गरेका हुन् । महाअभियानका सहसंयोजक रामविकास चौधरीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संवेदनशीलतालाई नजरअन्दाज गर्दै राज्यले यसलाई स्थानीय घेराभन्दा बाहिर पु¥याउन नसकेको र विभिन्न समयका सरकारहरूले यसलाई ‘लुटधन्दा’को केन्द्र बनाएको आरोप लगाउनु भयो ।
उहाँले पटक–पटक खबरदारी गर्दा पनि सुनुवाई नभएको र उल्टै स्थानीय बासिन्दामाथि प्रहरी प्रशासनमार्फत दमन गरिएको गुनासो गर्नुभयो । चौधरीकाअनुसार सन् १९९२ मा प्राचीन मायादेवी मन्दिरलाई भत्काएर यसको मौलिक स्वरूप बिगारिएको, मन्दिर परिसरको ऐतिहासिक पीपलको रुख गैरकानूनी रूपमा काटेर विक्री गरिएको र मन्दिरको दानपेटीबाट पटक–पटक रकम चोरी भएको छ ।
साथै, मन्दिरभित्र अनाधिकृत रूपमा मूर्तिहरू राख्ने र हटाउने कार्य भइरहेको तथा भगवान बुद्धको अस्तु धातुसहितका बहुमूल्य प्राचीन वस्तुहरूको अवस्था अज्ञात रहेको उहाँले बताउनु भयो । प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाँचौँ संशोधन) को व्यवस्था उल्लेख गर्दै उहाँले ऐतिहासिक संरचना नष्ट गर्नेलाई कडा सजायको व्यवस्था भएपनि लुम्बिनीमा जीर्णोद्धारका नाममा नयाँ संरचना खडा गरी कानुनको धज्जी उडाइएको दाबी गर्नुभयो ।
महाअभियानका संयोजक अक्रम खानले विकास कोषभित्र अर्बौँको भ्रष्टाचार र कमिसनको खेल भइरहेको आरोप लगाउनु भयो । खानले कोषका पदाधिकारीहरूको नामै किटेर ६ अर्बभन्दा बढीको अन्तर्राष्ट्रिय ठेक्कालाई टुक्रा–टुक्रा पारी कमिसन असुल गरिएको दाबी गर्नुभयो । उहाँले केही पदाधिकारीले करोडौँ रकमको बार्गेनिङ गरेको र केही योजनाहरू रोक्न सफल भएपनि अनियमितताको क्रम नरोकिएको बताउनु भयो ।
लुम्बिनी विकासको गुरुयोजना (प्रोफेसर केन्जो टाँगेद्वारा तयार पारिएको) र कोषको आफ्नै विनियमावली विपरीत कार्य भइरहँदा पनि सरोकारवाला निकाय मौन रहेकोमा महाअभियानले चिन्ता व्यक्त गरेको छ । गत वैशाख पूर्णिमादेखि लुम्बिनी जस्तो संवेदनशील स्थलको नेतृत्व रिक्त राखिनुले सरकारको नियतमाथि प्रश्न उठेको उनीहरूको भनाइ छ ।
महाअभियानले वर्तमान सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको गरिमा बचाउन र भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न माग गरेको छ । बुद्धको जन्मस्थलका ‘अवैतनिक पहरेदार’का रूपमा रहेका लुम्बिनीबासीको भावनालाई कदर गर्दै सम्पदा संरक्षणमा गम्भीर बन्न महाअभियानले राज्यको ध्यानाकर्षण गराएको छ । –न्युज एजेन्सी नेपाल











