किभ। युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।
रुसी रक्षा मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना सशस्त्र बलहरूले रातभर किभका ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य–औद्योगिक प्रतिष्ठान र सैन्य रसद (लजिस्टिक) केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
मन्त्रालयकाअनुसार यो कारबाहीमा जमिन र समुद्रबाट प्रहार गरिने उच्च प्रविधिका हतियार तथा मानवरहित विमान (ड्रोन) हरुको प्रयोग गरिएको थियो ।
रुसले विशेषगरी किभ इलेक्ट्रोनिक इन्डस्ट्री एसेम्बली एन्ड कम्पोनेन्ट्स प्रतिष्ठानलाई निशाना बनाएको दाबी गरेको छ । उक्त उद्योगले युक्रेनको नेप्चुन–एमडी गाइडेड मिसाइल, एफपी–७ अपरेसनल–ट्याक्टिकल मिसाइलका साथै ग्रोम–२ मिसाइल प्रणालीका लागि आवश्यक विद्युतीय उपकरण र पाटपुर्जाहरू निर्माण गर्दै आएको थियो ।
युक्रेनी अधिकारीहरूले आक्रमणबाट भएको मानवीय क्षतिको पुष्टि गरेका छन् । किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यलाई घटनास्थलमै वा क्लिनिकहरूमा प्राथमिक उपचार प्रदान गरिएको छ ।
रुसले पछिल्लो समय युक्रेनका सैन्य र औद्योगिक पूर्वाधारहरूलाई लक्षित गरी हवाई आक्रमण तीव्र पारेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











