काठमाडौँ। महानगरपालिकाभित्रका सहकारीहरुमा बचत जम्मा गर्ने १० हजार २३४ जना बचतकर्ताले आफ्नो ८ अर्ब १९ करोड ५८ लाख २६ हजार ८२६ रुपियाँ बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिनुभएको छ । यो तथ्याङ्कले काठमाडौँका सहकारीहरूमा ठुलो मात्रामा तरलता अभाव र सञ्चालकहरूको बदमासी देखाउँछ ।
बचतकर्ताको अरवौँ रकम जोखिममा परेपछि महानगरपालिकाले प्रशासनिक कारवाही र कानुनी प्रक्रियालाई कडाइ गरेको छ ।
यस अन्तर्गत ९१५ वटा सहकारीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीलाई पत्राचार गरेको छ । १८७ वटा सहकारीलाई कारबाहीका लागि सिफारिस गरी पठाएको छ ।
४० वटा संस्थाको सघन अनुगमन र १६३ वटा संस्थामा आन्तरिक नियन्त्रण निरीक्षण जाँच सूची मार्फत सुक्ष्म अनुगमन गरिएको छ ।
यस क्रममा वार्षिक साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने र नातेदारमा लगानी गर्ने जस्ता कैफियत भेटिएका संस्थाहरूलाई सुधारका लागि निर्देशन दिइएको छ ।










