गण्डकी। कास्कीमा क्रियाशील प्रमुख राजनीतिक दलहरूले धार्मिक, सामाजिक, सांस्कृतिक एकता र सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
उनीहरूले सामाजिक सद्भाव र एकता बिथोलिने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति यदुनाथ अधिकारी, नेपाली कांग्रेसका सभापति किशोरदत्त बराल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय सदस्य झपट रानाभाट, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता डिबी राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष नारायण गुरूङद्वारा आज संयुक्त रूपमा जारी अपिलमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा समुदायबीच द्वेष फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सामाजिक सञ्जालमा भ्रम फैलाउने, कुनै धर्म, संस्कृति वा समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्ति र गतिविधिले सामाजिक सद्भाव खलबल्याउन सक्ने भन्दै त्यस्ता कार्य नगर्न/नगराउन सबैमा आग्रह गरिएको छ ।
दलहरूले आपसी सद्भाव, एकता र भातृत्व कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, धार्मिक गुरूहरू, युवा वर्गलगायतलाई अनुरोध गरेका छन् । रासस










