१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

एउटै वडामा रु दुई करोडको आलु उत्पादन

एउटै वडामा रु दुई करोडको आलु उत्पादन
अ अ+ अ-

खोटाङ । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी (५०० पाथी) आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताउनुभयो । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उहाँले भन्नुभयो, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”

खिदिमामा यसवर्ष साँढे सात हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । “आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उहाँले भन्नुभयो, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।”

समुद्री सतहदेखि करीब दुई हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरीद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरीद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा सङ्घीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक किसानलाई सङ्गठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताउनुभयो ।

एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरीद तथा बिक्री हुने गरेको छ । खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ ।

खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।”

साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताउनुभयो ।

पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।
वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो ।