१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर र योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो।

उहाँले प्रभावित नागरिकसम्म पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउने र घटनाको निष्पक्ष छानबिन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्दै परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीतिका साथ काम गरिरहेको उहाँको भनाइ थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु सांसदहरूको वास्तविक दायित्व भएको उहाँले स्मरण गराउनुभयो।

प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै सांसदहरूले तत्कालै आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका छन्। बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको उनीहरूले बताएका छन्।

स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम गर्न दुवै पक्षका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सघन संवादलाई निरन्तरता दिनुपर्ने सुझाव पनि सांसदहरूले दिएका छन्।

त्यस्तै, तनावग्रस्त तथा आसपासका क्षेत्रमा धार्मिक र सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक तथा ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि सांसदहरूले औँल्याएका छन्।