९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माईतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनका क्रममा अभियानकी सदस्य सुप्रिया नेपालीले मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदहरूका लागि स्वकीय सचिवको सङ्ख्या बढाउनु नीतिगत रूपमा गलत भएको बताउनु भयो ।

कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रमा १० रुपैयाँको सिटामोल पाउन गाह्रो भइरहेको अवस्थामा जनताले तिरेको करबाट स्वकीय सचिवका नाममा सुविधा थप्नु न्यायोचित नहुने उहाँको तर्क छ ।

सांसदहरूले सामाजिक सञ्जालमार्फत स्वकीय सचिवका लागि विज्ञापन आह्वान गरेको विषयप्रति लक्षित गर्दै उहाँले लोकसेवा आयोगको तयारी गरिरहेका युवाहरूको भावनामा चोट पुगेको उल्लेख गर्नुभयो ।

दिनरात पढेर निजामती सेवामा प्रवेश गर्न चाहने युवाहरू आर्थिक सङ्कटमा रहेका बेला विना प्रतिस्पर्धा राजनीतिक नियुक्ति गरिनु सुशासनको उपहास भएको उहाँको दाबी छ । अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाडी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, ‘कर्णालीमा विनियोजन गरिएको बजेटबाट पुल निर्माण गर्ने वा निःशुल्क स्वास्थ्य र शिक्षामा लगानी गर्ने हो भने जनताले परिवर्तनको महशुस गर्ने थिए । तर राज्यले सुशासन र विधिको शासनको सट्टा विलासितालाई प्रश्रय दिइरहेको छ । विद्यार्थीहरू तुइन चढेर विद्यालय जानुपर्ने र बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता अन्त्य गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । राम्रो कामको हामी सधैँ समर्थन गर्छौं तर राज्यको आवश्यकता र प्राथमिकतालाई उपेक्षा गरेर गरिने निर्णयको विरोध जारी रहनेछ ।’

पछिल्लो समय सांसदहरूले एकभन्दा बढी स्वकीय सचिव राख्न पाउनुपर्ने माग गरिरहेको र कतिपयले अनौपचारिक रूपमा कर्मचारी नियुक्तिको प्रक्रिया शुरु गरेको चर्चाका बिच यो विरोध प्रदर्शन भएको हो ।

सरकारले सांसदहरूलाई अतिरिक्त सुविधा उपलब्ध गराएर राज्यमाथि थप आर्थिक भार सिर्जना गरेको भन्दै अभियानले उक्त निर्णयको विरोध गरेको हो । सरकारको यो कदम सुशासनको सिद्धान्त र जेन–जी आन्दोलनको मूल मर्म एवं भावनाविपरित रहेको उनीहरुको भनाइ छ ।

अभियानले उक्त निर्णय तत्काल खारेज गर्न माग गर्दै सांसदका लागि विनियोजन गरिएको सो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।–न्युज एजेन्सी नेपाल