काठमाडाैँ । दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले गर्दै आएको प्रदर्शन बुधबार ३३औँ दिनमा प्रवेश गरेको छ। प्रदर्शनमा सहभागी हुन बुधबार बिहानैदेखि हजारौँ प्रदर्शनकारी जंतर–मन्तरमा भेला भएका छन्।

प्रदर्शनमा गत जुलाई २० मा संसद् भवनतर्फको मार्चका क्रममा प्रहरीको लाठीचार्ज र अश्रुग्यासको सामना गरेका प्रदर्शनकारीसमेत सहभागी छन्। प्रदर्शनकारीहरूले विभिन्न माग राख्दै नाराबाजी गरेका छन्।
यसैबीच, दिल्ली प्रहरीले जुलाई २० मा सीजेपीको संसद् मार्चका क्रममा भएको हिंसात्मक घटनालाई लिएर १० वटा प्राथमिकी (एफआईआर) दर्ता गरेको जनाएको छ। प्रहरीका अनुसार संसद् मार्ग थानामा चार, कनॉट प्लेस थानामा तीन तथा मन्दिर मार्ग, बाराखम्बा रोड र कर्तव्य पथ थानामा एक–एक वटा एफआईआर दर्ता भएका छन्।
प्रदर्शनकारीमाथि दंगा नियन्त्रण बलका सुरक्षाकर्मीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको, ढुंगामुढा गरेको, तोडफोड गरेको तथा सरकारी काममा बाधा पुर्याएको आरोप लगाइएको छ।
यसैबीच, भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले मंगलबार राति गुरुग्रामस्थित मेदान्ता अस्पताल पुगेर सोनम वाङ्चुकलाई भेटेका छन्। वाङ्चुक गत जुन २८ देखि अनशनमा छन्। दिल्ली उच्च अदालतको निर्देशनपछि उनलाई मंगलबार सफदरजंग अस्पतालबाट मेदान्ता अस्पतालमा सारिएको बताइएको छ।
जंतर–मन्तरमा जारी प्रदर्शनस्थलमा रहेको मञ्चमा सोनम वाङ्चुकको तस्बिरसँगै संविधानको प्रति, चरखा र रामचरितमानससमेत राखिएको छ। बुधबार बिहान प्रदर्शनस्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएर ‘इन्कलाब जिन्दाबाद’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनस्थलमा केही सहभागीहरू मञ्च अगाडि जमिनमै आराम गरिरहेका दृश्यसमेत देखिएका छन्। सीजेपीले देशका विभिन्न स्थानबाट प्रदर्शनकारीहरूका लागि खाना र पानी पठाउने क्रम जारी रहेको जनाएको छ।
न्यूजपोलार
६ श्रावण २०८३, बुधबार १२:०५
न्यूजपोलार
६ श्रावण २०८३, बुधबार १२:०५
६ श्रावण २०८३, बुधबार १२:०५










