काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी तथा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका कार्यालयलाई कडा निर्देशन दिएको छ।

विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले सेवाग्राहीका उजुरी तथा निवेदनलाई प्राथमिकताका साथ तत्काल सम्बोधन गर्न निर्देशन दिएको हो।
विगतमा विभिन्न माध्यमबाट, हेल्लो सरकार, मन्त्रालय वा विभागमार्फत प्राप्त भएका तथा कार्यालयमै प्रत्यक्ष रूपमा दर्ता गरिएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीबाट सेवाग्राहीप्रति उचित व्यवहार नभएको र न्याय प्रदान गर्न ढिलाइ भएको भन्दै मन्त्रीसमक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
परिपत्रमा श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक प्रक्रिया अघि बढाई त्यसको जानकारी सम्बन्धित सेवाग्राहीलाई गराउन भनिएको छ। साथै, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण अनिवार्य रूपमा पालना गर्नुपर्ने स्पष्ट पारेको छ।
कुनै उजुरी वा निवेदन आफ्नो कार्यालयको क्षेत्राधिकारभित्र नपर्ने भए तत्काल सेवाग्राहीलाई जानकारी गराई सम्बन्धित निकायमा पठाउन पनि निर्देशन दिइएको छ।
त्यस्तै, श्रमिकका उजुरीमाथि सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने, श्रम कानुनबमोजिम आवश्यक वार्ता गराउने र वार्ताबाट समस्या समाधान हुन नसकेमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न विभागले भनेको छ।
श्रम अदालत तथा कार्यालयबाट भएका आदेश वा निर्णयहरू समेत समयमै कार्यान्वयन गर्न निर्देशन दिइएको छ। यसैगरी, हेल्लो सरकारमार्फत प्राप्त गुनासो सम्बोधन गरेपछि त्यसको जानकारीसमेत यथाशीघ्र सम्बन्धित निकाय तथा सेवाग्राहीलाई गराउन विभागले मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
न्यूजपोलार
६ श्रावण २०८३, बुधबार ११:५९
न्यूजपोलार
६ श्रावण २०८३, बुधबार ११:५९
६ श्रावण २०८३, बुधबार ११:५९










