काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक दिशातर्फ उन्मुख भइरहेको आरोप लगाउँदै लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।
जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार जारी गरेको सन्देशमा देउवाले बिपीको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको विचार आज पनि मुलुकका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। बिपीको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाएको अवसरलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भन्दै उनले लोकतान्त्रिक मूल्य, जनअधिकार र संविधानवादप्रतिको प्रतिबद्धता आफ्नो राजनीतिक जीवनको मार्गदर्शक रहेको बताएका छन्।
छ दशकभन्दा लामो राजनीतिक यात्रामा जेल, प्रतिबन्ध, दमन र कठिन परिस्थितिको सामना गर्नुपरे पनि लोकतन्त्र र जनअधिकारको पक्षमा आफू कहिल्यै विचलित नभएको देउवाको भनाइ छ। उनले नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गर्दै वर्तमान चुनौती सामना गर्न पनि कांग्रेस सक्षम रहेको दाबी गरेका छन्।
स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको उल्लेख गर्दै देउवाले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
फरक विचारप्रति असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन तथा विपक्षीलाई त्रसित बनाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि अस्वीकार्य भएको उनको भनाइ छ।
देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको आरोप लगाएका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले यस्तो अवस्थाले लोकतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताएका छन्।
उनले जननायक बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्दै अहिले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। इतिहासको अनुभव, नयाँ पुस्ताको ऊर्जा, प्रविधि र ज्ञानलाई जोडेर राष्ट्रिय संवाद र साझा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिशोधात्मक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण आशावादी रहेको बताएका छन्। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपालीलाई उनले आह्वान गरेका छन्।











