२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल



oplus_1026
अ+ अ-

दाङ। तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो । तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहेपनि उचित प्रचारप्रसार र प्रवर्द्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन् ।

करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यो तालको आफ्नै ऐतिहासिक विशेषता छ । पहिले यहाँ सातवटा छुट्टाछुट्टै तालहरू थिए, जसलाई अहिले मिलाएर एउटै विशाल तालको स्वरूप दिइएको छ ।

तालको बीच भागमा करिब रु एक करोडको लागतमा एउटा शिवमन्दिर निर्माण गरिएको छ । उक्त मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णु गरी पाँच वटा मूर्तिहरू स्थापना गरिएका छन् ।

आकर्षण तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताउनुभयो । वर्षायामको पानी सङ्कलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछापालनसमेत गर्ने गरिएको उहाँको भनाइ छ ।

स्थानीय बुढाथोकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाट्टफुट्ट तस्बिर  खिच्ने गरे पनि तालकै अवलोकनका लागि आउनेको सङ्ख्या भने कम छ । सडक सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्रका साना पोखरीहरू समेत पर्यटकीय केन्द्र बनिरहेको अवस्थामा, बजार नजिकैको यति ठूलो ताल भने उपेक्षित हुनु दुःखद रहेको स्थानीय बताउँछन् ।

यो ताललाई व्यवस्थित गरी उचित प्रचारप्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताउनुभयो ।

उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ पहल थालिएको तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले बताउनुभयो । उहाँले यहाँ थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल थालिएको भन्दै सोही अनुरुप बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । रासस