२ श्रावण २०८३, शनिबार
,
Latest
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री वाणिज्य विभागद्वारा गैरकानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित



अ+ अ-

काठमाडौँ। मुलुकभर सक्रिय रहेको मनसुनका कारण विगत २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यस अवधिमा देशभर कुल ४२ वटा विपद्जन्य घटनाहरू दर्ता भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार साउन १ गते बिहान १० बजेदेखि २ गते बिहान १० बजेसम्म १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ ।

पहिरोमा परी एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको छ । यसै अवधिमा पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन्, जसमा ६ जना घाइते भएका छन् । त्यस्तै, आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन् ।

विपद्का कारण पछिल्लो २४ घण्टामा अनुमानित १८ लाख ५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्शानी भएको छ । वर्षा र पहिरोका कारण मुलुकका ६ वटा मुख्य सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । विपद् प्रतिकार्य तथा अवरुद्ध सडक खुलाउनका लागि नेपाल प्रहरीका १५१ जना जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

वैशाख यताको अवस्थाः सर्पदंश र चट्याङबाट बढी मानवीय क्षति

चालु वर्षको वैशाख १ गतेदेखि हालसम्मको विवरण हेर्दा प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार यस अवधिमा सर्पदंशबाट मात्रै ३९ जनाको मृत्यु भएको छ । त्यस्तै, चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ जनाको मृत्यु भएको छ ।

हावाहुरी र पहिरोका कारण १३–१३ जनाले ज्यान गुमाएका छन् भने बाढीबाट १० र भारी वर्षाका कारण ४ जनाको मृत्यु भएको छ । त्यस्तै ढुंगा पल्टेर २ जना, वन डढेलोबाट १, हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको छ । वैशाख १ देखि साउन २ गतेसम्म विपद्जन्य घटनाबाट कुल १ सय ६४ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ८९ विपद्का घटना भएका छन् ।

यस अवधिमा १ जना बेपत्ता भएका छन् भने ९ सय ८१ जना घाइते भएका छन् । त्यस्तै ४ हजा ५ सय ५ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३ सय ५६, आगलागीबाट एक हजार परिवार प्रभावित छन् । सर्पदंशबाट ५ सय ३३ परिवार, चट्याङबाट २७५ परिवार, लेक लाग्नेबाट ५४ परिवार, जनावर आक्रमणबाट २ सय ९६ परिवार प्रभावित छन् ।

सार्वजनिक सुरक्षा तथा उच्च शतर्कताको अपिल

विपद्को जोखिम बढ्दै गएपछि प्राधिकरणले सर्वसाधारणका लागि विशेष सुरक्षा निर्देशिका जारी गरेको छ । यात्रामा निस्कनुअघि सडक विभाग वा स्थानीय प्रहरीसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन र भिरालो एवं कमजोर जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तराई तथा भित्री मधेसमा सर्पदंशको जोखिम उच्च रहेकाले घर वरपरको सरसफाईमा ध्यान दिन, राति हिँड्दा टर्चलाइटको प्रयोग गर्न र सर्पले टोकेमा ढिलाइ नगरी तुरुन्त उपचार केन्द्र लैजान सूचित गरिएको छ । नदी र खोलामा जलस्तर बढ्ने क्रम जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा आउने एसएमएस अलर्ट र बाढी पूर्वानुमान बुलेटिन नियमित रूपमा हेर्न अनुरोध गरिएको छ । नदीमा माछा मार्ने वा दाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण कार्य नगर्न समेत भनिएको छ ।

चट्याङ पर्ने सम्भावना देखिएमा खुला ठाउँमा नबस्न र विद्युतीय उपकरणहरूको प्रयोग बन्द गर्न प्राधिकरणले अपिल गरेको छ । –न्युज एजेन्सी नेपाल