काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बुद्धिमान तामाङ र राप्रपा सांसद खुश्बु ओलीले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्दै संविधान संशोधन, स्वास्थ्य बीमा, कृषि मल आपूर्ति, सुकुम्बासी व्यवस्थापनलगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गरेका छन्।
सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार भेटमा अध्यक्ष लिङ्देनले संविधान संशोधनबारे राप्रपाको धारणा राख्नुभएको थियो। त्यसक्रममा प्रधानमन्त्री शाहले संविधान संशोधनसम्बन्धी बहसपत्र एक–दुई दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभएको उल्लेख गरिएको छ।
भेटमा स्थगित स्वास्थ्य बीमा कार्यक्रमबारे पनि छलफल भएको थियो। राप्रपाले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्नु उचित नभएको धारणा राखेपछि प्रधानमन्त्रीले कार्यक्रम पूर्ण रूपमा खारेज नभई प्रणालीभित्र रहेका विकृति, अनियमितता र दुरुपयोग सुधार गर्न अस्थायी रूपमा मात्रै स्थगित गरिएको स्पष्ट पारेको सांसद ओलीले बताएकी छन्। आवश्यक सुधारपछि कार्यक्रम पुनः सञ्चालन गरिने सरकारको प्रतिबद्धता रहेको जनाइएको छ।
कृषि क्षेत्रमा देखिएको मल अभावबारे अध्यक्ष लिङ्देनले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसक्रममा सरकारले युरिया मल आयातको प्रक्रिया अघि बढाइसकेको र किसानलाई पुस–माघसम्म अभाव नहुने गरी पर्याप्त मल उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएको सांसद ओलीले उल्लेख गरेकी छन्।
सुकुम्बासी व्यवस्थापनका विषयमा वरिष्ठ नेता बुद्धिमान तामाङले चासो व्यक्त गर्नुभएको थियो। त्यसमा सरकारले वास्तविक सुकुम्बासी र गैरसुकुम्बासीलाई छुट्याएर व्यवस्थापन गर्ने नीति लिएको, स्थानान्तरण गरिएका परिवारका लागि व्यवस्थित बसोबासको व्यवस्था गरिएको तथा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी र विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूको संरक्षणमा ध्यान दिइने प्रतिबद्धता जनाएको जनाइएको छ।
साथै, ‘जेन जी’ आन्दोलनका घाइतेहरूको उपचार र सरकारी रेखदेखको जिम्मेवारी गृहमन्त्रीलाई दिइएको जानकारी पनि प्रधानमन्त्रीले गराउनुभएको सांसद ओलीको भनाइ छ।
भेटका क्रममा सांसद खुश्बु ओलीले कार्यपालिका र संसदबीच पर्याप्त संवाद र समन्वयको अभाव रहेको विषय उठाउँदै प्रधानमन्त्रीले संसद र सांसदहरूसँग नियमित संवाद कायम राख्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्। प्रधानमन्त्री शाहले उक्त सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउनुभएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्।











