१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी: चिनियाँ कम्पनीसँग सम्झौता, १ वर्षमै सकाउने लक्ष्य



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार ठेक्का सम्झौता भएको छ । १२ महिनामा काम सक्ने गरी मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच सम्झौतामा हस्ताक्षर भएको हो । सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ८५ करोड एक लाख ९४ हजार चार ५८ रुपैयाँमा लिएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

यससँगै १० महिनादेखि रोकिएको आयोजनाको काम सुरु हुने भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो । सिनो हाइड्रोले आगामी २६ गतेबाट काम थाल्ने भएको छ । त्यसका लागि उसले ठेक्का सम्झौता हुनुभन्दा अघि नै फिल्ड भिजिटसमेत गरिसकेको छ । ‘कम्पनीले यसअघि नै फिल्ड भिजिट गरिसकेको छ,’ खत्रीले भने, ‘२६ गतेबाट काम सुरु हुन्छ ।’

हेडवक्र्सको ठेक्का सम्झौता केही दिनमा
सिनो हाइड्रोले करिब ९० करोड रुपैयाँमा हेडवक्र्स निर्माणको ठेक्कासमेत पाइसकेको छ । तर, आइतबार हेडवक्र्स निर्माणको ठेक्का सम्झौता भएन । समितिका अनुसार केही दिनभित्रै यससम्बन्धी ठेक्का सम्झौता गर्ने तयारी छ । ‘हामी हेडवक्र्सको सम्झौता गर्न तयारी हालतमा छौँ । कम्पनीको तयारी नपुगेकाले सम्झौता नभएको हो,’ खत्रीले भने, ‘कम्पनीलाई हेडवक्र्सको सम्झौता चाँडै गर्न ताकेता गरेका छौँ । एक–दुई दिनभित्रै सम्झौता भइसक्छ ।’

काठमाडौंमा मेलम्चीको पानी झार्न सुरुङ फिनिसिङको काम सकिन आवश्यक रहेकाले पहिलो प्राथमिकता सुरुङलाई दिइएको समितिले जनाएको छ । पानी काठमाडौं ल्याइसकेपछि पनि हेडवक्र्स निर्माणको काम गर्न सकिने समितिको भनाइ छ । ‘सुरुङ फिनिसिङ हुनेबित्तिकै काठमाडौंमा पानी ल्याउन सकिन्छ । हाम्रो पहिलो प्राथमिकता सुरुङकै काममा छ,’ खत्रीले भने, ‘हेडवक्र्सको काम सुरुङ फिनिसिङको कामसँगै अघि बढाउने योजना छ । पानी काठमाडौं ल्याइसके पनि पनि हेडवक्र्सको काम गर्न सकिन्छ ।’

काम चाँडो सके बोनस, ढिला गरे फाइन
समितिसँगको सम्झौताअनुसार साढे ६ महिनामै सुरुङ फिनिसिङको काम सके सिनो हाइड्रोले दैनिक ठेक्का रकमको ०.१५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार बोनस पाउनेछ । तर, ठेक्का सम्झौताको अवधि १२ महिनासम्म पनि काम नसके सिनो हाइड्रोले फाइन तिर्नुपर्ने खत्रीले जानकारी दिए ।

‘सम्झौता अवधिभन्दा अघि काम सके दैनिक ०.१५ प्रतिशत बोनस पाउने र ढिला भए दैनिक त्यति नै दरमा फाइन तिर्नुपर्ने सम्झौता भएको छ,’ खत्रीले भने । सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरिसकेको छ । सोही कारण चाँडो काम सके बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता भएको बताइएको छ ।

२४ करोडका आठ ठेक्का
सामान आपूर्तिका लागि करिब २४ करोडका आठ टेन्डरसमेत भइसकेका छन् । काम छोडेर हिँडेको सिएमसीले अर्डर गरेका सामान आइसकेको र त्यही सामान प्रयोग गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समितिका अनुसार मेलम्चीकै लागि भनेर अर्डर गरिएका सामान भएकाले तिनै सामान प्रयोग गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकबाट