१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधुनिक पशु बधशाला निर्माण हुने



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले बधशाला निर्माण गर्न लागिएको बताइएको छ । विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन सकेको थिएन् ।

बधशाला निर्माण गर्न रु २१ करोड लागत लाग्ने र यसका लागि डिपिआर तयार भइसकेकाले दुई वर्षभित्रमा व्यवस्थित बधशाला निर्माण हुने महानगरपालिकाले जनाएको छ । बधशाला निर्माण गर्न प्रदेश सरकारको रु पाँच करोड र विराटनगर महानगरपालिकाको रु पाँच करोड गरी रु १० करोड रकमबाट काम थालिने र पछि स्रोत जुटाउँदै जाने महानगरपालिकाको योजना छ ।

नेपालमै नमूना बधशाला निर्माण गर्न हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग एवं सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले जानकारी दिए । बधशाला निर्माण गर्न बोलपत्र आह्वानका लागि महानगरपालिका प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले वर्तमान परिस्थितिलाई सहज बनाउन र विराटनगरमा कुनै पनि बधशाला नभएको कारण उपभोक्ताको स्वास्थ्यमा पर्ने असरलाई निर्मूल पार्न व्यवस्थित बधशाला निर्माण गर्न लागेको बताए । उनले एउटा सुन्दर शहर निर्माण गर्ने क्रममा पशु बधशालाको निकै आवश्यकता महसुस गरेको भन्दै दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने दाबी गरे ।