१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमाञ्चल विकास मञ्चको सम्मान र शुभकामना



अ+ अ-


काठमाडौँ । पश्चिमाञ्चल विकास मञ्चले विभिन्न साविकको गण्डकी, धौलागिरि र लुम्बिनी अञ्चलले समेटेको क्षेत्रमा जन्मिएर हाल देशका विभिन्न क्षेत्रमा रहेका गरिरहेका विशिष्ट नेपाल सरकारको सेवामा विशिष्ट श्रेणीमा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।


राजधानीमा आइतनबार आयोजित एक कार्यक्रममा उहाँहरुलाई सम्मान प्रदान गरिएको हो । उक्त मञ्चद्धारा आयोजित शुभकामना आदान प्रदान र सम्मान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठ र उक्त मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।


यसरी सम्मानित हुनेहरुमा राष्ट्रिय वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति सुनिलबाबु श्रेष्ठ, नेपाल सरकारका सचिव डा.हरि पौडेल, सर्वाेच्च अदालतका रजिष्ट्रार लालबहादुर कुँवर, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत ऋषिराम शर्मा, राष्ट्रिय अनुसन्धान आयोगका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी रहनुभएको छ ।


साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर काम, व्यवसाय या अध्ययन आदिको सिलसिलामा विभिन्न क्षेत्रमा रहेका विशिष्ट व्यक्तित्वहरु र प्रतिभालाई उक्त मञ्चले वर्षेनी सम्मान गर्ने गर्दछ ।
त्यसैगरी उक्त क्षेत्रको विविध महत्व र सम्भावनालाई उजागर गरेर उक्त मञ्चले हालैमात्र एक स्मारिका पनि प्रकाशन गरेको थियो ।


सो सभालाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले यस मञ्च जन्मथलोलाई कर्मथलोबाट हेर्ने र सम्झिने एक उत्कृष्ट स्थल भएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो पेसा र व्यवसायका कारण जन्मथलो छोडेर बाहिरै बस्नु परिरहेका बढीभन्दा बढी व्यक्तिलाई यस मञ्चमा समेटी आफ्नो जन्मभूमिका लागि केही गर्न प्रेरित गर्ने काम यस मञ्चले गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।


उक्त मञ्चका अध्यक्ष ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी स्थापना भएको विशुद्ध सामाजिक संस्थाका रुपमा सो मञ्च स्थापना भएकोले यसै नामबाट नै सञ्चालन गरिएको जानकारी दिनुभयो ।


उहाँले यस क्षेत्रको भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन् अद्धितीय सम्पदाहरुका कारण देशको पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले आगामी दिनमा यो मञ्चमार्फत पश्चिम क्षेत्रका नागरिकलाई सकेसम्म समेट्दै लैजाने धारणा पनि राख्नुभयो ।