काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठीत अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।
अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार जरिवाना निर्धारण गरेको छ ।
यसैगरी टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना , पूर्वसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय निर्धारण गरिएको छ । अदालतले बेचन झालाई एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकिएको छ।
सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजाललाई दुई वर्ष कैद र रु २० हजार जरिवाना तोकिएको छ ।
यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायण पाण्डेलाई चार वर्ष कैद तथा रु ४० हजार जरिवाना तोकिएको छ । यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तोकिएको छ ।














