२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने



अ+ अ-

काठमाडौँ। विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलीकोप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

वायुसेवा सञ्चालक सङ्घ, नेपालसँगको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नुपरेमा निःशुल्क उपलब्ध गराउने र उपत्यकाबाहिर उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।

यसैगरी नेपाल ड्रोन सङ्घसँगको समझदारीअनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत्सम्बन्धी उपकरण (पाईलटसहित) उपलब्ध गराउनु पर्नेछ। सो कार्यमा खटिने सदस्यहरुको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ ।

नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखेर माग गरेमा नाराले निःशुल्क रुपमा राफ्ट र तत्सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ। यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनःनवीकरण गर्न सकिनेसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य तथा समन्वय जरुरी हुने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने जिकिर गर्दै निजी क्षेत्रको सेवा भावप्रति आभार व्यक्त गर्नुभयो ।

यसैगरी वायुसेवा सञ्चालक सङ्घ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन सङ्घका अध्यक्ष राजविक्रम महर्जन र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षाका लागि आफूहरुले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका उपसचिव फणिन्द्रप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरुको उपस्थिति थियो । रासस