काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले देशको स्वास्थ्य प्रणाली, जलन (बर्न) उपचारको अवस्था र आन्दोलनका घाइतेहरूको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले सरकारका निर्देशनहरू प्रचारमुखी मात्र भएको र धरातलीय यथार्थभन्दा टाढा रहेको टिप्पणी गर्नुभएको हो । प्रमुख सचेतक ओलीले प्रधानमन्त्री कार्यालयले विभिन्न अस्पतालमा ‘बर्न वार्ड’ पूर्ण रूपमा सञ्चालन गर्न दिएको भनिएको निर्देशनको आधिकारिकतामाथि प्रश्न उठाउनु भयो ।
सम्बन्धित निकायहरूबाट औपचारिक निर्देशन प्राप्त नभएको जानकारी आएको उल्लेख गर्दै उहाँले निर्णय भएको भए स्पष्ट पार्न र नभएको भए खण्डन गर्न सरकारलाई चुनौती दिनुभयो । सांसद ओलीले कीर्तिपुर बर्न अस्पताललाई ‘राष्ट्रिय प्रशिक्षण केन्द्र’ बनाएर देशभरका स्वास्थ्यकर्मीलाई कम्तीमा एक वर्ष वा तत्कालका लागि एक महिनाको भएपनि विशेष जलन व्यवस्थापन तालिम दिन सुझाव दिनुभयो ।
साथै, प्रदेश अस्पतालहरू सक्षम नहुँदासम्म देशभरका जलनका बिरामीलाई कीर्तिपुरमा निःशुल्क र शिघ्र रिफर गर्ने राष्ट्रिय संयन्त्र निर्माण गर्न माग गर्नुभयो । कीर्तिपुर अस्पतालका लागि विनियोजित ८ करोड रुपैयाँ अघिल्लो सरकारको समयदेखि नै रोक्का भएको भन्दै उहाँले उक्त रकम तत्काल उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन र सरोकारवालासँगको छलफललाई उद्धृत गर्दै उहाँले नेपालमा वार्ड मात्र नभई समग्र ‘बर्न उपचार प्रणाली’ मै सुधारको खाँचो रहेको औँल्याउनु भयो ।










