काठमाडौँ। सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ ।
बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमवासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुमवासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोहीअनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
“यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ”, मन्त्री यादवले भन्नुभयो । यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यसअन्तर्गत शाखाले गृहकार्य गरिरहेका छन् ।
सुकुमवासी युवालाई लक्षित गरेर सीप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गर्नेगरी मन्त्रालयले सघन रूपमा काम गरिरहेको श्रम मन्त्री यादवको भनाइ छ ।
सुकुमवासीको हकमा तालिमको आवश्यकता पहिचान (ट्रेनिङ निड एसेस्मेन्ट) का आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ ।
आइतबार श्रममन्त्री यादवसहित मन्त्रीहरूको टोली सुकुमवासीका गुनासो सुन्न र समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए । रासस











