२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा



अ+ अ-

काठमाडाैँ । केही वर्षअघिसम्म प्रेमबहादुर कुमालको दिनचर्या माटाका गाग्री, हाँडी र भुर्का बनाउनमै बित्थ्यो । अहिले भने उहाँ प्रायः माटाका प्लेट र कप मात्रै बनाउनुहुन्छ । बजारको माग फेरिएसँगै पुस्तौँदेखि अपनाउँदै आएको कुमाले पेसाले पनि नयाँ स्वरूप लिन थालेको छ । दाङकाे तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीका प्रेमबहादुर भन्नुहुन्छ, “पहिले गाग्री, भुर्का र हाँडीको निकै माग हुन्थ्यो, अहिले बजारमा प्लास्टिकका भाँडा सजिलै पाइने भएकाले ती सामग्रीको माग घटेको छ । बरु अहिले माटाका प्लेट र कपको माग बढ्दो छ ।”

पछिल्लो समय विभिन्न स्थानमा ‘मट्का चिया’ पसल खुल्न थालेपछि माटाका कपको माग उल्लेख्य रूपमा बढेको उहाँको अनुभव छ । चियासँगै माटोको स्वाद र वातावरण खोज्ने ग्राहक बढेकाले आफूहरूले उत्पादन गरेको सामग्री बजारमा सहजै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । “माग धेरै आउँछ, केही होटल सञ्चालकले त ‘यतै आएर बनाए पनि हुन्छ’ भनेर कोठासमेत दिने प्रस्ताव गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर जनशक्ति अभावका कारण मागअनुसार उत्पादन गर्न सकिरहेका छैनौँ ।”

प्लेट र कपसँगै अहिले माटाका गमला तथा सजावटका लागि प्रयोग हुने घोडालगायतका मूर्ति बनाउन पनि अर्डर आउने गरेको छ । यसले परम्परागत कुमालको पेसामा नयाँ सम्भावनाको सङ्केत देखाए पनि दक्ष जनशक्तिको अभाव भने मुख्य चुनौती बनेको छ । कविराम कुमालका अनुसार नयाँ पुस्ताको घट्दो आकर्षणले यो पेसाको भविष्यप्रति चिन्ता बढाएको छ । “माग त पर्याप्त छ, तर यो पेसा अहिले पनि हामीजस्ता पुरानै पुस्ताले धानेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले अपेक्षाअनुसार चासो नदिँदा यो पेसा सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता लाग्छ, यद्यपि केही युवाले सिक्ने प्रयास भने गरिरहेका छन् ।”

गरिबी निवारण कोषबाट प्राप्त ‘ग्लेजिङ’ मेसिनले उत्पादनको गुणस्तर सुधार्न सहयोग पुगेको छ । त्यसैगरी हस्तकला महासङ्घले दिएको तालिमपछि यहाँका कुमाल समुदायले आधुनिक डिजाइनका प्लेट, कप र अन्य सामग्री बनाउन सिकेका हुन् । तर उत्पादनको मूल्य निर्धारण गर्ने कुनै मापदण्ड नहुँदा बिक्री मूल्य भने ग्राहकसँगको समझदारीमै निर्भर रहने गरेको उनीहरूको भनाइ छ । “हामीले बनाएका माटाका भाँडाको निश्चित मूल्य छैन”, कविरामले भन्नुभयो, “त्यसैले अनुमान र बार्गेनिङकै आधारमा बिक्री गर्नुपर्छ ।” कुनै समय करिब ६० परिवारले बसोबास गर्ने यस कुमाल बस्तीमा अहिले १०–११ परिवार मात्रै सक्रिय रूपमा माटाका भाँडा बनाउने पेसामा संलग्न छन् । बजारको माग बढे पनि पेसामा संलग्न हुने जनशक्ति भने घट्दै गएको छ ।

कच्चापदार्थको अभाव अर्को समस्या बनेको छ । अहिले उनीहरूले तुलसीपुर–७ को कालोखोला क्षेत्रबाट माटो ल्याउने गरेका छन् । तर त्यहाँबाट माटो निकाल्ने विषयमा स्थानीयसँग पटक–पटक विवाद हुने गरेको उनीहरूको गुनासो छ । आवश्यक गुणस्तरको माटो सहज रूपमा उपलब्ध हुन नसक्दा उत्पादनमा असर पर्ने गरेको कुमाल समुदायको भनाइ छ ।

बजारको आवश्यकता बदलिँदै जाँदा कुमालको पेसाले पनि आफूलाई समय अनुकूल ढाल्ने प्रयास गरिरहेको छ । परम्परागत गाग्री र हाँडीको स्थान अहिले प्लेट, कप र सजावटी सामग्रीले लिन थालेका छन् । तर यो पुस्तौँ पुरानो सीपलाई दीर्घकालसम्म जोगाइराख्न नयाँ पुस्ताको सहभागिता, कच्चापदार्थको सहज उपलब्धता र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु आवश्यक देखिन्छ ।