काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ को व्यवस्था उल्लंघन गरेको ठहर गर्दै विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराउने निर्णय गरेको जनाएको छ।
विभागका अनुसार २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको उडान विवरण माग गरी विशेष अनुगमन गरिएको थियो।
सञ्चालनमा रहेका कुल १ हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्र विभागमा विवरण पेस गरेका थिए। प्राप्त विवरणको अध्ययनका क्रममा १५९ वटा म्यानपावर कम्पनीले विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर श्रमिक पठाएको पाइएको विभागले जनाएको छ।
त्यसैगरी, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३४ भन्दा बढी म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको आधारमा सचेत गराउँदै यथाशीघ्र विवरण पेस गर्न निर्देशन दिएको छ।
विभागले पटक–पटक कानुन र निर्देशन उल्लंघन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको छ।
जरिबाना गरिएका कम्पनीहरूमा ग्रान्ड सुइट जब, मास ह्युमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेसनल म्यानपावर र अञ्जली ओभरसिज सर्भिस रहेका छन्।
विभागका अनुसार तीमध्ये तीन कम्पनीलाई पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको र पाँच कम्पनीलाई विभागले मागेको विवरण उपलब्ध नगराएको कसुरमा जरिबाना गरिएको हो।
वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा नेपालको विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा विदेशी विमानस्थल प्रयोग गर्नुपरे विभागबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान रहेको विभागले स्मरण गराएको छ।
विभागका अनुसार म्यानपावर कम्पनीहरूले पूर्वस्वीकृतिबिना भारतीय विमानस्थलमार्फत श्रमिक पठाउँदा श्रमिकको अभिलेख व्यवस्थापन, सुरक्षा तथा निगरानी प्रणालीमा समस्या उत्पन्न हुने गरेको छ।
भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउने सम्बन्धी गुनासो बढ्दै गएपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै सम्बन्धित म्यानपावर कम्पनीसँग उडान विवरण माग गरेको थियो।
विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।











