१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
अ अ+ अ-

नवलपरासी। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ ।

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् ।

यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गर्नुभयो । “गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ”, उहाँले भन्नुभयो ।

दाउन्ने क्षेत्रमा सहजरुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । “दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ”, उहाँले भन्नुभयो ।

गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन  सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । “गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपथ्र्यो । अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज छ । सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन”, उहाँले भन्नुभयो, “प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ ।”

नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो । “अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ”, उहाँले भन्नुभयो, “अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन् । विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ ।”

पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन ।  रासस