काठमाडौं । विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म देशभर ३८ हजार ९३८ वटा आवास निर्माण सम्पन्न गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको सरकारले जनाएको छ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै हाल ८ हजार ३५९ वटा आवास निर्माणाधीन रहेको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमअन्तर्गत हालसम्म ५५ हजार ९७० वटा आवास स्वीकृत भएका छन्।
मन्त्री वादीका अनुसार प्रदेशगत रूपमा कोशी प्रदेशमा ५ हजार ४१६ आवास हस्तान्तरण भएका छन् भने ६५७ वटा निर्माणाधीन छन्। मधेश प्रदेशमा १५ हजार ५३४ आवास हस्तान्तरण भइसकेका छन् र ५ हजार २४८ वटा निर्माणको चरणमा छन्।
त्यस्तै, बागमती प्रदेशमा २ हजार ७६ आवास हस्तान्तरण हुँदा १४७ वटा निर्माणाधीन छन्। गण्डकी प्रदेशमा २ हजार २१ आवास हस्तान्तरण गरिएको छ भने १५९ वटा निर्माणाधीन अवस्थामा रहेका छन्।
लुम्बिनी प्रदेशमा ६ हजार ५२२ आवास लाभग्राहीलाई हस्तान्तरण गरिएको छ भने ५ हजार ३७ वटा निर्माणाधीन छन्। कर्णाली प्रदेशमा ४ हजार ३४४ आवास हस्तान्तरण भइसकेका छन् र १ हजार १३४ वटा निर्माणाधीन अवस्थामा छन्। सुदूरपश्चिम प्रदेशमा ३ हजार १८ आवास हस्तान्तरण गरिएको छ भने ४६८ वटा निर्माणाधीन रहेको मन्त्री वादीले जानकारी दिनुभयो।
उहाँले जनता आवास कार्यक्रममार्फत विपन्न नागरिकलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने सरकारको अभियान निरन्तर अघि बढिरहेको बताउँदै देशभर निर्माण सम्पन्न भएका ३८ हजार ९३८ आवास लाभग्राहीलाई हस्तान्तरण भइसकेको र ८ हजार ३५९ आवास निर्माणको विभिन्न चरणमा रहेको जानकारी दिनुभयो।











