काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ।
काठमाडौं प्लाजामा स्थापना गरिएको उक्त ल्याबको बुधबार कार्यवाहक प्रमुख सुनिता ढंगालले उद्घाटन गर्नुभयो। महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने, बजार अनुगमन प्रभावकारी बन्ने तथा उपभोक्ताको स्वास्थ्य संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख ढंगालले यसअघि आफ्नै प्रयोगशाला नहुँदा खाद्य वस्तुको परीक्षणका लागि अन्य प्रयोगशालामा भर पर्नुपर्ने अवस्था रहेको र परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा बजार अनुगमन प्रभावित हुने गरेको बताउनुभयो। अब भने प्रारम्भिक परीक्षण महानगरकै प्रयोगशालाबाट गर्न सकिने भएकाले अनुगमनलाई अझ तीव्र र प्रभावकारी बनाउन सहज हुने उहाँको भनाइ छ।
उहाँले महानगरले यसअघि सञ्चालनमा ल्याएको मोबाइल ल्याबलाई पनि नयाँ प्रयोगशालाले थप सहयोग गर्ने उल्लेख गर्दै स्वस्थ खाद्य वस्तु नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो।
ढंगालले महानगरले दण्ड–जरिवाना गर्ने काममा मात्र सीमित नभई व्यवसायीलाई खाद्य सुरक्षाबारे सचेतना पनि दिँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार ‘फुड सेफ्टी बुट क्याम्प’ कार्यक्रममार्फत हालसम्म तीन हजारभन्दा बढी व्यवसायीलाई खाद्य सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी सल्लाहकार तथा खाद्य स्वच्छता विज्ञ जीवनप्रभा लामाले स्थानीय तहको स्तरमा खाद्य प्रयोगशाला स्थापना हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले प्रभावकारी खाद्य प्रणालीका लागि सम्बन्धित कानुन, व्यवस्थापन, प्रयोगशाला, खाद्य निरीक्षण तथा उद्योगी–व्यवसायीलाई खाद्य शिक्षाको व्यवस्था अनिवार्य हुने उल्लेख गर्दै काठमाडौं महानगरले यी सबै पक्षलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो।
लामाका अनुसार नयाँ प्रयोगशालाले खाद्य परीक्षणलाई वैज्ञानिक, छिटो र विश्वसनीय बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यसले अन्य स्थानीय तहलाई पनि खाद्य सुरक्षा प्रणाली सुदृढ गर्न प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो।
महानगरले बजार अनुगमनलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित आगामी दिनमा प्रयोगशालाको क्षमता र सेवालाई थप विस्तार गर्दै लैजाने जनाएको छ।











