२४ असार २०८३, बुधबार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति काेशी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित दुई विधेयक दफावार छलफलका लागि स्वीकृत प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने:‘उद्यमी व्यवसायीलाई पक्रने हाम्रो नीति र नियत होइन’ मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाबाट पानी आपूर्ति बन्द भएपछि वैकल्पिक स्रोत परिचालन गर्दै शिवपुरीस्थित वागमती नदीबाट थप खानेपानी ल्याउने प्रक्रिया अघि बढाएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीबाट पानी ल्याउने योजना ‘फास्ट ट्र्याक’मा अघि बढाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा पाँच–छ वर्षअघि तयार गरिएको शिवपुरीस्थित वागमती नदीबाट पानी ल्याउने योजनालाई पुनः सक्रिय बनाइएको हो।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै लामो समयदेखि रोकिएको आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको साहले बताउनुभयो। यसअघि ईआईए स्वीकृति नहुनु तथा दररेटसम्बन्धी समस्याका कारण दुई पटक ठेक्का प्रक्रिया रद्द भएको थियो।

हाल वागमतीबाट दैनिक करिब २ करोड लिटर पानी आपूर्ति भइरहेको छ। अब थप २० इन्च व्यासको नयाँ पाइपलाइन जडान गरी आपूर्तिको क्षमता बढाइनेछ। यसअघि १४ इन्चका दुई वटा पाइपमार्फत पानी वितरण हुँदै आएको थियो।

साहका अनुसार आयोजनाका लागि आवश्यक करिब २०० मिटर डक्टाइल आइरन (डीआई) पाइप केयुकेएलसँग मौज्दात छ भने बाँकी ५०० एमएम व्यासका एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिनेछ।

उहाँले आगामी तीन सातादेखि एक महिनाभित्र काम सम्पन्न गरी उपत्यकामा दैनिक थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य रहेको बताउनुभयो। यसबाट विशेषगरी चक्रपथभित्र मेलम्चीको पानी नपुगिरहेका क्षेत्रमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

बैठकमा कार्यकारी निर्देशक साहले केयुकेएलको ठूलो परिमाणमा रहेको बक्यौता असुली प्रक्रिया पनि अघि बढाइएको जानकारी दिनुभयो। साथै मध्यपुर थिमीका केही क्षेत्रमा देखिएको खानेपानी समस्या तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै पाइपलाइन विस्तार तथा सडक खन्ने कार्य स्थानीय तह र वडा अध्यक्षसँग आवश्यक समन्वय गरेर गरिने स्पष्ट पार्नुभयो।