२४ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहलाई एसएमएस पठाएर चर्चामा आएका सचिव पुष्कर अनिवार्य अवकाशमा



अ+ अ-

काठमाडौं । नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर बुधबारदेखि अनिवार्य अवकाशमा गएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अतिरिक्त (जगेडा) समूहमा कार्यरत रहेका उनी सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा भएपछि सेवाबाट अवकाशमा गएका हुन्।

२०५३ माघ १७ गते नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका पुष्करले करिब तीन दशक लामो सरकारी सेवाका क्रममा विभिन्न महत्त्वपूर्ण मन्त्रालय तथा निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी २०७८ असार २४ गते सचिव पदमा बढुवा भएका थिए।

सचिवका रूपमा उनले अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपराष्ट्रपतिको कार्यालयमा जिम्मेवारी सम्हालेका थिए।

सेवाको उत्तरार्धमा भने उनी प्रधानमन्त्री बालेन्द्र शाहलाई मोबाइल सन्देश (एसएमएस) पठाएको विषयलाई लिएर चर्चामा आएका थिए। उक्त घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसपछि उपराष्ट्रपतिको कार्यालयबाट उनको सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा राखिएको थियो।

पाँच वर्षे सचिव कार्यकाल पूरा गरेसँगै पुष्करले बुधबारदेखि औपचारिक रूपमा निजामती सेवाबाट अवकाश लिएका छन्।