९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो



अ+ अ-

काठमाडाैँ । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिनुभयो । एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

उहाँका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख, जेठ र असारमा बञ्जीजम्प गर्नेको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ । सडक तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय दैनिकजसो भारतीय युवाको समूह बञ्जीजम्प गर्न आउने गरेको पाइएको छ । विदेशमा रोजगारी तथा उच्च शिक्षाका लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढेको छ । उनीहरूका लागि बञ्जीजम्प छुट्टीको विशेष आकर्षण बन्न थालेको अध्यक्ष खरेलको भनाइ छ । उहाँले भन्नुभयो, “छ वर्षअघि सञ्चालनमा आएको बञ्जी नेपालले हालसम्म १५ हजारभन्दा बढी व्यक्तिलाई बञ्जीजम्प गराइसकेको छ ।

कम्पनीले प्रत्येक व्यक्तिबाट रु सात हजार ५०० शुल्क लिने गरेको छ । जसमा फोटो, भिडियो र टिसर्ट उपहारको समेत व्यवस्था गरेको छ ।” एक सय एक मिटरको गहिराइमा हामफाल्ने उक्त बञ्जीजम्पको सबैभन्दा ठूलो विशेषता भनेको प्राकृतिक दृश्य हो । उहाँले भन्नुभयो, “हामफाल्ने क्रममा एकातिर माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य देखिन्छ भने अर्कातर्पm तल बगेको सेती खोंच र वरपरको हरियालीले साहसिक अनुभवलाई अझ रोमाञ्चक बनाइदिन्छ ।” यही दृश्यावलोकनका कारण धेरै पर्यटकले पोखराको बञ्जीलाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा लिने गरेका छन् । बञ्जी नेपालका संस्थापक अध्यक्ष सन्तोष भट्टराईसहित ११ जना पोखराका युवा उद्यमीले उक्त संस्थामा संयुक्त रूपमा रु आठ करोड २५ लाख लगानी गर्नुभएको हो । क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जीजम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ ।

सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले वञ्जीजम्पमा थप आकर्षण बढ्ने विश्वास गरिएको छ । बञ्जी सञ्चालनमा आएसँगै अप्रत्यक्ष रूपमा स्थानीयलाई रोजागरी, पर्यटन व्यवसाय र आसपासका होटल, रेष्टुरेन्ट तथा यातायात क्षेत्रमा समेत आर्थिक गतिविधि बढाएको छ । कम्पनीमा हाल २० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको कम्पनीका कार्यकारी निर्देशक मीना बरालले जानकारी दिनुभयो । प्रत्येक वर्ष कम्पनीले नेपाल सरकारलाई दुईदेखि साढे दुई लाखसम्म राजस्व बुझाउँदै आएको छ । पोखरामा प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, हटएयर बेलुनजस्ता साहसिक गतिविधिसँगै बञ्जीजम्प पनि महत्त्वपूर्ण पर्यटन उत्पादनका रूपमा स्थापित हुँदै गएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।

विदेशी मुद्रा आर्जन, युवालाई रोजगारी तथा पोखराको पर्यटन प्रवर्द्धनमा यस्ता साहसिक खेलले उल्लेखनीय योगदान पुर्याइरहेका छन् । उहाँका अनुसार पर्यटन व्यवसायीहरूका अनुसार साहसिक पर्यटनका यस्ता गन्तव्यलाई स्थानीय समुदाय, निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यबाट अझ व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पोखराले अन्तरराष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा थप उचाइ हासिल गर्न सक्नेछ ।

पोखराको मुख्य पर्यटकीयस्थलबाट करिब तीन मिलोमिटर दूरीमा रहेको बञ्जी कतिपय आन्तरिक पर्यटकको यही प्रयोजनका लागि पोखरा बसाइ लम्बिन सक्छ । तर एकैदिनमा बञ्जीजम्प गरेर फर्कन पनि सकिने छ । प्रमुख लामिछानेका अनुसार गण्डकी प्रदेशमा कुश्मासहित पोखरा रातोपैह्रा र हेमजामा पनि बञ्जी सञ्चालन गरिएको छ ।