४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी नेपाल

छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी नेपाल
अ+ अ-

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिले पुरानो परम्परा तोड्दै छोटो, संक्षिप्त र बजेटलाई सहयोग गर्ने स्पष्ट सन्देश दिएको पूर्वगभर्नर चिरञ्जीवी नेपालले बताएका छन्।

गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष सुरु हुनुअघि नै मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ अभ्यासको सुरुआत गरेका छन्। यसअघि आर्थिक वर्ष सुरु भएपछि मात्रै मौद्रिक नीति सार्वजनिक गर्ने चलन जस्तै बनेको थियो। यसपटक गभर्नर पौडेलले मौद्रिक नीति जम्मा ३ मिनेट ५० सेकेन्डमा प्रस्तुत गरेका थिए, जुन सम्भवतः राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न थालेयताकै सबैभन्दा छोटो प्रस्तुति हो।

मौद्रिक नीतिले अपेक्षाअनुसार राहत वा नयाँ कार्यक्रम नल्याएको भन्दै केही क्षेत्रबाट आलोचना भइरहेका बेला पूर्वगभर्नर नेपालले भने यसलाई सही दिशामा आएको नीति भएको बताएका छन्।

उनका अनुसार विगतमा घण्टौँ लगाएर सार्वजनिक गरिने मौद्रिक नीति सुन्ने बानी परेकाले यसपटकको संक्षिप्त प्रस्तुति धेरैलाई अस्वाभाविक लागेको हुन सक्छ।

“हामीले विगतमा एक–एक घण्टा लगाएर मौद्रिक नीति सुन्दै आएका थियौँ, त्यसैले अहिलेको शैली केही अनौठो लाग्न सक्छ,” नेपालले भने, “तर त्यो परिपाटी हटाइएको छ। यद्यपि केही विषय अझै स्पष्ट हुन बाँकी छन्।”

नेपालका अनुसार यसपटकको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सहयोग गर्ने उद्देश्यमा केन्द्रित छ। राष्ट्र बैंकले आफू अर्थतन्त्रको मुख्य चालक नभई सहयोगी संस्थाका रूपमा रहेको स्पष्ट सन्देश दिएको उनको भनाइ छ।

“सरकारलाई आवश्यक सहजता उपलब्ध गराउने भूमिका मात्रै केन्द्रीय बैंकले लिएको देखिन्छ। यो मौद्रिक नीतिले राष्ट्र बैंकसँग अत्यधिक अपेक्षा नगर्नुपर्ने सन्देश दिएको छ,” उनले भने।

उनका अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधारको मुख्य जिम्मेवारी सरकारकै वित्त नीतिमा रहेको स्पष्ट रूपमा स्वीकार गरेको छ।

“मुख्य औषधि सरकारको बजेट हो, राष्ट्र बैंकले मात्रै गरेर हुँदैन भन्ने सन्देश यो नीतिले दिएको छ,” नेपालले भने, “आवश्यक परे तीन–तीन महिनामा नीतिगत समायोजन गर्ने संकेतसमेत गरिएको छ।”

नेपालले विगतमा मौद्रिक नीतिमार्फत सरकारले दिनुपर्ने राहतसमेत राष्ट्र बैंकले घोषणा गर्ने प्रवृत्ति रहेको स्मरण गर्दै यसपटक त्यसबाट अलग रहने प्रयास गरिएको बताए।

“पहिले मौद्रिक नीति बजेटभन्दा पनि ठूलो देखिने अवस्था हुन्थ्यो। कोभिड–१९ का बेला समेत राहतका अधिकांश कार्यक्रम केन्द्रीय बैंकमार्फत आएका थिए,” उनले भने, “तर अहिले वित्त नीति नै मुख्य हो भन्ने धारणा स्थापित गर्ने प्रयास गरिएको छ।”

११ प्रतिशत कर्जा विस्तारले ७ प्रतिशत आर्थिक वृद्धि सम्भव

पूर्वगभर्नर नेपालले मौद्रिक नीतिले लिएको ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यबाट सरकारले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव रहेको बताए।

उनका अनुसार नेपालको करिब ४० प्रतिशत अर्थतन्त्र अझै अनौपचारिक क्षेत्रमा रहेकाले कर्जा विस्तार नभए पनि ३ देखि ४ प्रतिशतसम्म आर्थिक वृद्धि सम्भव हुन्छ।

“११ प्रतिशत कर्जा विस्तारको लक्ष्यअनुसार करिब ६ खर्ब ५२ अर्ब रुपैयाँ औपचारिक क्षेत्रमा प्रवाह हुनेछ। त्यसले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न पर्याप्त आधार तयार गर्छ,” उनले भने।

यद्यपि यसपटकको मौद्रिक नीतिले कुन–कुन क्षेत्रमा कति कर्जा प्रवाह गर्ने भन्ने स्पष्ट मार्गचित्र नदिएकाले केही अन्योल रहेको उनको भनाइ छ।

“अघिल्ला मौद्रिक नीतिमा कुन क्षेत्रमा कति लगानी जाने भन्ने अनुमान सार्वजनिक हुन्थ्यो। अहिले त्यो खुलाइएको छैन। सम्भवतः राष्ट्र बैंकले आन्तरिक रूपमा त्यस्तो विश्लेषण गरेको हुन सक्छ,” नेपालले भने।