१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्ति रोक्न निर्देशन

राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्ति रोक्न निर्देशन
अ अ+ अ-

काठमाडौं । सरकारले समाजमा शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका सिलसिलामा कुनै दबाब र प्रभावमा नपर्न प्रहरीलाई आग्रह गरेको छ । कुन पार्टीको सरकार छ, कसले अपराध गर्यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धानमा लाग्नसमेत प्रहरीलाई सरकारले भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने अवस्थाले शान्तिसुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यस्ता प्रवृत्ति निस्तेज पार्न प्रहरीलाई निर्देशनसमेत दिनुभएको छ ।

यहाँ आज आयोजित ६४औँ प्रहरी दिवसलाई सम्बोधन गर्दै उहाँले निष्पक्ष छानबिन गर्न खोज्यो भने प्रहरीलाई अर्कातिर मोड्ने प्रवृत्ति कायम रहेकामा चिन्ता प्रकट गर्नुभयो । राजनीतिक दलबल देखाउने र छानबिनलाई व्यवधान गरी सत्यसम्म पुग्न प्रहरीलाई व्यवधान गर्ने अनि फेरि सत्य स्थापित हुन सकेन भने त्यही प्रहरीलाई गाली गर्ने काम हुने गरेको छ भन्दै प्रधानमन्त्री ओलीले यस्तो अनुचित काम कसैबाट हुन नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “म सरकारका तर्फबाट भन्न चाहन्छु, कुन पार्टीको सरकारमा छ, त्यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन, कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने विषय पनि होइन, को पक्षमा छ, को विपक्षमा छ त्यो प्रहरीले मतलब राख्नुहुँदैन, को कुन पदमा छ प्रहरीले सरोकार राख्नुहुँदैन, कानूनको कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्तिसुरक्षामा प्रहरीले ध्यान दिनुपर्छ ।”

कसैको दबाबमा नपरी कानूनअनुसार अगाडि बढ्न प्रहरीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई दबाब दिने दुष्प्रयास नगर्न समेत आग्रह गर्नुभयो । विश्वमै मर्यादित, सभ्य र सौहार्दपूर्ण भाषा नेपालको भए पनि हाम्रो समाज उन्मुक्त मनोवृत्तितर्फ उन्मुख हुँदै गएर असभ्य भाषाको प्रयोग बढ्दै गएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गर्नुभयो । “सामाजिक सञ्जालमा हेर्यौ भने असभ्य भाषाको प्रयोगमा तँछाडमछाड छ, यसले अरू कुरामा भन्दा गम्भीर सांस्कृतिक अधोपतनलाई देखाउँदछ, सांस्कृतिक अधोपतन भएपछि समाजलाई सच्याउन गाह्रो हुन्छ, बालबालिका र युवा पङ्क्तिलाई त्यस्ता असभ्य भाषा सिकाउने प्रवृत्ति देखापरेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । समाजलाई आन्तरिक शान्तिसुरक्षाबाट भड्काउने आधारको काम त्यसले गरिरहेको छ भन्दै उहाँले योे प्रहरीका लागि थप चुनौतीको विषय भएको उल्लेख गर्नुभयो ।

उहाँले समृद्धितिर अघि बढेको मुलुकलाई फेरि विकासको महाभियानबाट अल्मल्याएर विकास हुन नदिने र शान्तिसुरक्षा खल्बल्याउने प्रयास भइरहेकामा दुःख व्यक्त गर्नुभयो । कोही संविधान मान्दिन भन्ने, कोही शान्ति मान्दिन र कोही व्यवस्था मान्दिन भनी देशद्रोही र अराजक प्रवृत्तिप्रति सरकार र प्रहरीले चुप लागेर बस्न नहुनेमा उहाँले जोड दिनुभयो ।

अहिलेसम्म सरकार धेरै उदार भएर प्रस्तुत भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अनावश्यक हिंसा र त्रासको वातावारण कायम गरिरहनु मौलिक हक, स्वतन्त्रताको हक र नागरिकको हकभित्र नपर्ने हुँदा यस्ता अवाञ्छित क्रियाकलाप रोक्न प्रहरीको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले अमर प्रहरी र प्रहरी दिवस एकै दिन मनाउँदा बधाई र समवेदना दिन अप्ठेरो छ भन्दै अलगअलग रुपमा कार्यक्रम गर्न सुझाव दिनुभयो । उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै अमर प्रहरी परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।

समारोहमा गृहमन्त्री रामबहादुर थापाले प्रहरीको एउटा कामलाई मात्रै नभई समग्रतामा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै प्रहरीको कर्तव्यपरायण र व्यावसायिकताको प्रशंसा गर्नुभयो । प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम विगतका कार्यक्रमभन्दा सफल रहेको उल्लेख गर्दै उहाँले थप प्रभावकारी बनाउन गृह मन्त्रालयले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता जनाउनुभयो ।“प्रहरी सेवालाई अझै प्रभावकारी बनाउन फौजदारी अपराधसंहितासँग सामाञ्जस्य हुने गरी भौतिक संरचना, प्रविधिको विकास, क्षमता विकास, सुविधा वृद्धिमा मन्त्रालय प्रयत्नशील छ”, गृहमन्त्रीले भन्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक रुपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको उल्लेख गर्दै गैरकानूनी क्रियाकलाप पूर्ण निस्तेज गरी कानूनी राज्य निर्माण गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

उक्त समारोहमा अमर प्रहरीका परिवारलाई आर्थिक सहयोगसँगै कदरपत्रले सम्मान गरिएको थियो । अन्तर जिल्ला कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीलाई सम्मान गरिएको थियो भने पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रहरीको मुखपत्र ‘प्रहरी दर्पण’ लोकार्पण गरिएको थियो ।