काठमाडौँ । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ ।
बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ । नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६.४ र २०२१ मा सामान्य वृद्धि भई ६.५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६.५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ । भ्रमण वर्ष २०२० का तयारी कार्यक्रम, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा ठूला होटलको समेत निर्माण पूरा हुँदा त्यसको प्रत्यक्ष लाभ नेपालको आर्थिक विकासमा देखिने बैङ्कले जनाएको छ ।
त्यस्तै लगानीमा भएको सुधार र सार्वजनिक खपतको वृद्धि समग्र अर्थतन्त्रलाई अगाडि बढाउन मुख्य सावित हुने प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्रमा यस वर्ष व्यापक सुधारको प्रक्षेपण गरिए पनि दक्षिण एसियाली अर्थतन्त्रको वृद्धिदर भने बिस्तारै घट्दै जाने बैङ्कको विश्लेषण छ । दक्षिण एसियाको औसत वृद्धिदर ५.९ प्रतिशतमा झर्ने गत अप्रिलमा प्रक्षेपण गरिएको भन्दा १.१ प्रतिशतले कम हुने बैङ्कले जनाएको छ ।
घट्दो आयात र औद्योगिक उत्पादन तथा वित्तीय बजारमा सिर्जना भएको तनावले यस क्षेत्रको वृद्धिदर खुम्चिन सक्ने बैङ्कका दक्षिण एसियाली उपाध्यक्ष हार्टविग स्क्याफरको भनाइ छ । विश्वव्यापी तथा आन्तरिक अनिश्चितताका कारण यस क्षेत्रको आर्थिक विकासमा प्रभाव पर्ने भएकोले निजी खपत र लगानी बढाउने किसिमका आर्थिक नीतिमा जोड दिनुपर्ने उनको सुझाव छ । गोरखापत्र दैनिकबाट