१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको नवौँ मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले ती विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

मन्त्री चौधरीले जलवायु न्याय, पर्याप्त र सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा अनुकूलनका लागि नेपाललाई थप अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र तथा दिगो विकासका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू उहाँले प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री चौधरीले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने नेपालले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको सफल सामुदायिक वन व्यवस्थापन कार्यक्रम, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा प्रकृतिमा आधारित समाधानलाई क्षेत्रीय तथा विश्वव्यापी रूपमा अनुकरणीय अभ्यासका रूपमा प्रस्तुत गर्नुभएको थियो ।

नेपालजस्ता अल्पविकसित, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरणमैत्री तथा जैविक उत्पादनहरूलाई अन्तरराष्ट्रिय बजारमा सहुलियतपूर्ण, प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनुपर्ने उहाँको जोड थियो ।

आजदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुने उक्त बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय कार्यक्रममा समेत सक्रिय सहभागिता जनाई नेपालको दृष्टिकोणहरू राख्नुभएको थियो ।

मन्त्री चौधरीले संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानासँग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी, मन्त्री चौधरी र बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री अब्दुल आवाल मिन्टूबीच द्विपक्षीय भेटवार्ता भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा द्विदेशीय वातावरण, वन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, जैविक अर्थतन्त्र, विपद् जोखिम न्यूनीकरण तथा दक्षिण सहकार्यका क्षेत्रमा साझेदारी थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

दुवै मन्त्रीहरूबीच जलवायु न्याय, जलवायु वित्त, अनुकूलन, क्षति तथा नोक्सानीलगायत विषयमा विकासशील तथा जलवायु जोखिमयुक्त मुलुकको साझा आवाजलाई अन्तरराष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउने विषयमा समेत सहमति भएको थियो । रासस