४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामापछि पारस भन्छन्,’आफ्नै नेतृत्वमा नेपाललाई टेस्ट टोलीको मान्यता दिन पाएको भए अझ खुसी हुने थिएँ’



अ+ अ-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले साढे तीन वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । पारसले सन् २००९ यता १० वर्ष निरन्तर राष्ट्रिय क्रिकेटको कप्तानी सम्हालेका थिए । उनले खेलाडीका रूपमा उपस्थित हुने, तर कप्तानको जिम्मेवारीमा कहिल्यै नफर्किने घोषणा गरेका छन् ।

‘नयाँ नेतृत्व आएको छ । क्यान भर्खरै आइसिसीको निलम्बनबाट फुकुवा भएको छ,’ पारसले भने, ‘अब नेपाली क्रिकेटमा नयाँ सुरुवात आवश्यक छ । त्यसमा सहयोग पुगोस् भन्ने उद्देश्यले कप्तानको जिम्मेवारी त्याग्ने निर्णय गरेको हुँ । खेलाडीका रूपमा भने अझै उपलब्ध हुनेछु ।’ नौ वर्षमा नेपाली क्रिकेटले प्राप्त गरेको सफलता पारसकै नेतृत्वमा भएको छ । ०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि पारसको जिम्मेवारी र भूमिका थप बढेको थियो ।

क्यान निलम्बन फुकुवा भएसँगै आफूले केही समय आराम गर्ने निर्णय गरेको उनले बताए । ‘क्यान निलम्बनमा परेपछि मैले खेलाडी र कप्तानको मात्रै होइन, आइसिसीसँग कुरा गर्ने, खेलाडीको व्यवस्थापन, प्रायोजकको खोजीदेखि धेरै काम गर्नुपर्यो,’ पारसले भने, ‘अब क्यान आएपछि यो काम उसैले गर्नुपर्छ । कप्तानबाट हटेपछि कम्तीमा केही समय आराम गर्ने अवसर पनि पाउने विश्वास छ ।’

पारसको नेतृत्वमा आएपछि सन् २०१० मा आइसिसीको डिभिजन ५ बाट बढुवा भएपछि अघि बढेको नेपाली क्रिकेटले डिभिजन ४, ३, २ र १ हुँदै गत वर्ष एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको छ । सन् २०१४ को विश्वकप छनोट र सहभागिता पनि उनकै कप्तानीमा भएको हो । यस अवधिमा एकदिवसीय र टी–२० क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि पारसले नै कायम गरेका छन् ।

‘क्रिकेटले मलाई धेरै दिएको छ । टी–२० विश्वकप क्रिकेट खेल्नु जीवनको महत्वपूर्ण उपलब्धि मान्छु । त्योभन्दा ठूलो उपलब्धि एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नुलाई मानेको छु । किनभने यसले नेपाली क्रिकेटलाई धेरै अवसर दिनेछ,’ पारसले कप्तानी यात्रा सम्झिँदै सुनाए, ‘राष्ट्रिय टोलीबाट खेल्दा हारेका सबै खेलजीवनका खराब दिन रहे । आफ्नै नेतृत्वमा नेपाललाई टेस्ट टोलीको मान्यता दिन पाएको भए अझ खुसी हुने थिएँ, त्यो उद्देश्य भने बाँकी नै रहने भयो ।’

पारसको कप्तानीमा नेपालले ६ एकदिवसीय खेल खेलेको छ । जित र हार तीन–तीन भएको छ । टी–२० तर्फ भने २८ खेल खेलेकोमा १२ मा जित तथा १५ मा हार व्यहोरेको छ ।

पारसको कप्तानीमा नेपालले हात पारेका केही महत्वपूर्ण सफलता

  • आइसिसीको डिभिजन पाँचदेखि एकदिवसीय टोलीको मान्यता ।
  •  टी–२० विश्वकपमा छनोट र सहभागीता (२०१४, बंगलादेश) ।
  •  एक दिवसीय टोलीको मान्यता (२०१८, जिम्बावे) ।
  •  पहिलो एक दिवसीय शृंखलाको जित (२०१९, युएई) । युएईविरुद्ध भएको तीन खेलको शृंखला नेपालले २–१ ले जितेको थियो ।
  •  पहिलो टी–२० शृंखलाको जित (२०१९, युएई) । युएईविरुद्ध नै भएको तीन खेलको टी–२० शृंखला पनि नेपालले २–१ ले जितेको थियो ।

राजीनामाको खास कारणः क्यान नेतृत्वसँगको तिक्त सम्बन्ध
सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेर फर्किंदा खेलाडीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै क्यानको तत्कालीन नेतृत्वको विरोध गरेका थिए । त्यतिवेला पारसकै नेतृत्वमा खेलाडीहरू क्यान पदाधिकारीविरुद्ध अनियमितताको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुगेका थिए । उनीहरूले आइसिसीमा पनि क्यान नेतृत्वविरुद्ध रिपोर्टिङ गरे ।

खेलाडीको उजुरीकै आधारमा अख्तियारले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा नै चलायो । तर, अदालतले उनीहरूलाई सफाइ दियो । लगत्तै क्यानको निर्वाचन भयो । मुद्दा खेपेर फर्केका चन्द अध्यक्ष र प्याकुरेल महासचिवमा चुनिए । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले त्यो समितिलाई मान्यता दिएनन् ।

उनले समानान्तर कमिटीका रूपमा राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवालको अध्यक्षतामा अर्को समिति गठन गरिदिए । लगत्तै आइसिसीले क्यानलाई निलम्बन गर्‍यो । दुई हप्ताअघि सम्पन्न क्यानको निर्वाचनबाट फेरि चन्द अध्यक्ष र प्याकुरेल सचिवमा निर्वाचित भएका छन् । सोमबार मात्रै आइसिसीले क्यानमाथिको निलम्बन पनि फुकुवा गरेको छ । आफैँले विरोध गरेका चन्द र प्याकुरेल क्यानको नेतृत्वमा आएपछि पारस राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

‘क्यानको नयाँ नेतृत्व पारससँग खुसी छैन । यो नेतृत्वले आगामी दिनमा उनलाई अपमान गर्छ नै । त्यसैले पारसले समयमै राजीनामा दिने निर्णय गरेका हुन्,’ पारसनिकटहरूको भनाइ छ । बरु, राजीनामा दिएर समर्थकमार्फत क्यान नेतृत्वमाथि दबाब बढाउने रणनीति पारसको देखिन्छ । नयाँ पत्रिका दैनिकबाट