• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा



वासिङ्टन । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ ।

अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको ह्विस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा छन् ।
युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरुबीच करवृद्धिका विषयमा घनीभूत छलफल भए पनि अन्त्यमा वार्ता बिफल भएको थियो ।

चीनसँगको व्यापार वार्तामा खासै प्रगति नभएको अवस्थामा युरोपेली संघसँग पनि व्यापार गतिरोध बढेका कारण यसले विश्व अर्थव्यवस्थामा थप सङ्कट निम्त्याउने विश्लेषकहरुको अनुमान छ । नयाँ घोषणा अनुसार विमान निर्माता कम्पनी एयरबसका नागरिक उड्डयनका विमानहरु अमेरिका आयात गर्दा १० प्रतिशत करवृद्धि हुनेछ । एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी छ ।

करवृद्धिको खतरामा फ्रान्सेली वाइन जस्ता उच्च मूल्यका सामान पनि परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघबाट अमेरिका आयात हुने बस्तुमा करवृद्धि गर्ने धम्की दिँदै आउनुभएको थियो । फ्रान्स, स्पेन र जर्मनीबाट आयात हुने वाइनमा अब २५ प्रतिशत कर लाग्नेछ । अमेरिकी करवृद्धिको घोषणा हुनुअघि वार्ताका लागि अमेरिका पुग्नुभएका फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायरले अमेरिकी कदमको प्रतिशोधमा युरोपले पनि अमेरिकी सामानमा करवृद्धि गर्ने सम्भावना रहेको बताउनुभयोे ।

उहाँले युरोप प्रतिशोध लिने अन्तिम तयारीमा छ भन्दै अमेरिकी निर्णय आर्थिक तथा राजनीतिक दुबै दृष्टिकोणबाट निकै प्रत्यूत्पादक हुने चेतावनी दिनुभयो ।
मन्त्री ली मायरले शुक्रबार नै अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरसँग भेट्ने कार्यक्रम छ । मन्त्री मायरले विश्व अर्थतन्त्र नै मन्दीतर्फ अग्रसर भइरहेको सन्दर्भमा सबैले मिलेर अर्थतन्त्रका समस्या सुल्झाउन पहल गर्नुपर्ने बताउनुभयो ।


युरोप र अमेरिकाबीच विमान निर्माता कम्पनीहरु एयरबस र बोइङलाई उपलब्ध हुने अनुदानका विषयलाई लिएर मतान्तर जारी छ । युरोपेली संघका पदाधिकारीहरु गत जुलाईमा विमान निर्माता कम्पनीलाई दिइने अनुदानका विषयमा छलफल गरी निष्कर्ष निकाल्न सहमत भएका थिए । उनीहरुबीच विमान कम्पनीहरुलाई सरकारी अनुदान नदिने विषयमा सहमति भए पनि त्यो कार्यान्वयनमा आउन सकेन ।

विमान कम्पनीलाई दिइने सरकारी अनुदानका विषयमा विगत १५ वर्षदेखि विवाद छ ।
गत बुधबार राष्ट्रपति ट्रम्पले युरोपेली संघसँग देखिएका द्विपक्षीय व्यापारका समस्या सुल्झाउन आफू खुला रहेको बताउनुभएको थियो । उहाँले युरोपेली संघसँग व्यापार घाटा ठूलो रहेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी पनि दिनुभएको छ ।