काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार आज झापा, मोरङ, धनकुटा लगायत आसपासका जिल्लाबाट बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ। ती क्षेत्रमा फ्ल्यास फ्लड (आकस्मिक बाढी) को न्यून जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आगामी दुई दिन पनि देशका विभिन्न भागमा नदीहरूको बहाव बढ्ने क्रम जारी रहने अनुमान छ। विशेषगरी कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही साना नदी तथा खोल्सामा पानीको सतह अचानक बढ्न सक्ने प्रक्षेपण गरिएको छ।
यद्यपि, देशका प्रमुख नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका प्रमुख सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
त्यसैगरी कन्काई, कमला, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह सामान्य अवस्थामै रहेको महाशाखाको भनाइ छ। बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मौसम तथा नदीको अवस्थाबारे नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।











