वासिङ्टन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अन्तरराष्ट्रिय आणविक निरीक्षकलाई पुनः प्रवेश गर्न दिने तथा दीर्घकालीन उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्न पूर्ण रूपमा सहमत भएको दाबी गर्नुभएको छ ।
मङ्गबार आफ्नो ‘ट्रुथ सोशल’ सञ्जालमार्फत ट्रम्पले इरानले भविष्यमा पनि उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको बताउनुभयो । यसले इरानको आणविक कार्यक्रम पारदर्शी रहने विश्वास व्यक्त गर्नुभयो ।
मध्यपूर्वमा भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हालै भएको सहमतिपछि अमेरिका र इरानबीच इस्लामिक गणतन्त्रको आणविक कार्यक्रमलगायत विषयमा वार्ता जारी छ । स्विट्जरल्याण्डमा दुवै देशका प्रतिनिधिबीच प्राविधिक तहमा वार्ता भइरहेको र ती वार्ता सकारात्मक रूपमा अघि बढिरहेको ट्रम्पले बताउनुभयो ।
ट्रम्पले इरानले गरेका अन्य महत्वपूर्ण सहमतिका आधारमा हर्मुज जलडमरूमा अमेरिकी नौसैनिक नाकाबन्दी कायम नराख्ने निर्णय गरिएको पनि उल्लेख गर्नुभयो । यद्यपि आवश्यक परेमा नाकाबन्दी पुनः लागू गर्न सकिने भन्दै त्यसका लागि नौसैनिक तयारी यथावत् रहेको उहाँले बताउनुभयो ।
विश्वव्यापी तेल तथा ग्यास निर्यातका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरू युद्धका क्रममा विवादको प्रमुख विषय बनेको थियो । उक्त जलमार्गमा अवरोध उत्पन्न हुने आशङ्काले विश्व अर्थतन्त्रमा समेत प्रभाव परेको थियो ।
यद्यपि ट्रम्पले इरान उच्चस्तरीय आणविक निरीक्षणमा पूर्ण रूपमा सहमत भएको दाबी गरे पनि इरानका पछिल्ला अभिव्यक्तिले त्यसबारे प्रश्न उठाएका छन् ।
ट्रम्पको उक्त अभिव्यक्तिभन्दा केही समयअघि इरानले गत वर्ष अमेरिकी र इजरायली आक्रमणबाट प्रभावित आफ्ना प्रमुख आणविक केन्द्रको निरीक्षण संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायलाई गर्न नदिइने जनाएको थियो । (रासस/एएफपी)











