काठमाडाैँ । सम्पत्ति शुद्धीकरणको अभियोगमा सोमबार सुर्खेतबाट पक्राउ गरिएका पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई आज (मंगलबार) काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार सोमबार साँझ सुर्खेतबाट नियन्त्रणमा लिएपछि उनलाई बाँकेको नेपालगन्ज लगिएको थियो। त्यसपछि उनलाई काठमाडौँ ल्याइएकाे छ ।
काठमाडौँ ल्याइएपछि पौडेललाई प्रारम्भमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइनेछ। त्यसपछि म्याद थपको प्रक्रिया अघि बढाउन उनलाई सरकारी वकिल कार्यालय, माइतीघरमा लगिने र त्यहाँबाट विशेष अदालतमा उपस्थित गराइने तयारी रहेको विभागले जनाएको छ।
पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको हो।
यसअघि सोमबार सुर्खेतमा पक्राउ गर्नु अघि भैँसेपाटीस्थित उनको निवासमा छापा मारिएको थियो। सो क्रममा अनुसन्धान टोलीले केही उपकरण तथा कागजातहरू बरामद गरेको विभागले जनाएको छ।











