८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका तीन पूर्वअध्यक्षको बुझाई: जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन पूर्व अध्यक्षहरुले पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र पार्टी छाडेका नेता तथा कार्यकर्ताहरुलाई फर्कन विशेष अनुरोध गरेका छन् ।

पूर्व अध्यक्ष पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले एक सयुक्त बिज्ञप्ति जारी गर्दे पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने भन्दै यस्तो आग्रह गर्नुभएको हो ।

उहाँहरुले जारी गर्नुभएको बिज्ञप्ति

१) गत असार ५ र ६ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठकमा हाम्रो अनुपस्थितिका कारण पार्टीका साथीहरूमा निराशा र विभिन्न आशङ्काहरू उत्पन्न भएको जानकारी हामीले पाएका छौँ। यस अवसरमा राप्रपा तथा यसको विचार, आदर्श र लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता सधैँ अटल र अविचल रहेको कुरा सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा कार्यकर्ता साथीहरूलाई स्पष्ट रूपमा आश्वस्त पार्न चाहन्छौँ।

वास्तवमा पार्टीभित्र लामो समयदेखि देखिँदै आएका बेथिति, सङ्कुचित सोच र व्यवहार, विधि-विधान तथा स्थापित परम्पराविपरीत गरिएका गतिविधि, साथै जथाभावी र पक्षपातपूर्ण ढङ्गले गरिने कारबाहीमा सुधार ल्याउन हामीले निरन्तर प्रयास गर्दै आएका थियौँ। पार्टीकै साथीहरूको आग्रह र अपेक्षाअनुसार गरिएको त्यो प्रयास अपेक्षित रूपमा सफल हुन नसकेपछि पार्टीको बृहत्तर हित, आन्तरिक एकता र लोकतान्त्रिक संस्कृतिको संरक्षणका लागि साङ्केतिक विरोधस्वरूप हामी उक्त बैठकमा अनुपस्थित भएका हौँ।

यो पनि पढ्नुहोस: पार्टी छाड्ने वा पलायन हुने आत्मघाती कदम नचाल्न राप्रपाका तीन पूर्वअध्यक्षको आव्हान

२) वैचारिक, सङ्गठनात्मक तथा रणनीतिक दृष्टिले राप्रपा आज एक महत्वपूर्ण र चुनौतीपूर्ण मोडमा उभिएको छ। हालसम्मका राजनीतिक घटनाक्रम तथा पछिल्लो निर्वाचन परिणामले पनि यस यथार्थलाई पुष्टि गरेका छन्। पार्टीलाई यस संकटबाट माथि उठाई नयाँ उचाइमा पुर्‍याउनु पनि हामी सबैको साझा दायित्व हो। हामी राप्रपाको भविष्यप्रति पूर्ण रूपमा आशावादी छौँ। नेपालको विशिष्ट भूराजनीतिक अवस्था, धार्मिक-सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत तथा सामाजिक यथार्थका कारण राप्रपा भविष्यमा देशको प्रमुख वैकल्पिक शक्ति मात्र नभई राष्ट्रिय नेतृत्वदायी शक्तिका रूपमा स्थापित हुनसक्ने पर्याप्त आधार रहेकोमा हामी विश्वस्त छौँ।

३) पार्टीभित्र देखापरेका विकृति, विसङ्गति र अविश्वासको वातावरण अन्त्य गर्दै राप्रपालाई एक सशक्त, एकताबद्ध र प्रभावकारी राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन सम्पन्न गरिनुपर्छ। पार्टीमा अनुशासन कायम हुनु आवश्यक छ, तर अनुशासनका नाममा पूर्वाग्रह, प्रतिशोध वा व्यक्तिगत आग्रहका आधारमा कसैलाई कारबाही गरिनु हुँदैन। त्यसैगरी, केन्द्रीय कार्यसमितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने परिपाटी पनि उचित होइन भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ। महाधिवेशन समयमै नहुने वा निष्पक्ष रूपमा सम्पन्न नहुने आशङ्काका कारण केही साथीहरूले पार्टी परित्याग गरिसकेका छन् भने अन्य कतिपयमा पनि निराशा बढिरहेको छ। यस्तो परिस्थितिको समाधानका लागि पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ (मार्गदर्शन समिति) गठन गर्नु उपयुक्त हुनेछ भन्ने हाम्रो सुझाव हो। दुर्भाग्यवश, यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टी निर्माण र सुदृढीकरणका लागि जीवनको महत्वपूर्ण समय, रगत र पसिना समर्पित गरेका पूर्वअध्यक्षहरूमाथि नै लक्षित गरी जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद र अस्वीकार्य छ।

४) हामी बैठकमा अनुपस्थित रहे पनि उक्त बैठकले २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेकोमा हामी त्यसको स्वागत गर्दछौँ। महाधिवेशनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र परिणाममुखी बनाउन विगतमा अध्यक्षज्यूकै उपस्थितिमा प्रस्तुत गरिएका सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिनुपर्छ। महाधिवेशनको मिति घोषणा भइसकेकाले पार्टीको स्थापित परम्परा र अभ्यासअनुसार केन्द्रीय समिति अब स्वतः ‘महाधिवेशन आयोजक समिति’मा रूपान्तरण भई सोही अनुरूप आफ्नो भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्छ।

५) विभिन्न राजनीतिक उतारचढाव, प्रतिकूलता र चुनौतीहरूका बीच पनि पार्टीको विचार, आदर्श र राजनीतिक अस्तित्वलाई जीवन्त राख्न हामीले निरन्तर सङ्घर्ष, त्याग र समर्पण गर्दै आएको तथ्य सर्वविदित छ। पूर्वअध्यक्षहरूको अनुभव, योगदान र संस्थागत भूमिकाको सम्मान गर्दै राप्रपाको विधानले नै उहाँहरूलाई केन्द्रीय तहका महत्वपूर्ण समितिहरूमा पदेन सदस्यका रूपमा रहने व्यवस्था गरेको छ। पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको वर्तमान अवस्थामा हामी मूकदर्शक बनेर बस्न वा पलायन हुन सक्दैनौँ। हाम्रो कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा पूर्वाग्रह छैन; हामी कुनै गुट वा समूहको राजनीतिमा पनि संलग्न छैनौँ। हाम्रो एक मात्र चाहना र चिन्ता भनेको हाम्रो जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो।

महाधिवेशन स्वच्छ, निष्पक्ष र लोकतान्त्रिक ढङ्गले सम्पन्न हुने विश्वासका साथ हामी पार्टी छाडेर गएका सम्पूर्ण साथीहरूलाई पुनः पार्टीमा फर्किन तथा निराश र अन्योलमा रहेका कार्यकर्ताहरूलाई नयाँ उत्साह, उच्च मनोबल र दृढ विश्वासका साथ महाधिवेशनको तयारीमा जुट्न हार्दिक आह्वान गर्दछौँ। विगतका कमजोरी र त्रुटिहरूबाट शिक्षा लिँदै, नेपाली जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार ‘हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र’ को आधारमा सुशासन, राजनीतिक स्थिरता, राष्ट्रिय एकता र आर्थिक समृद्धि सुनिश्चित गर्न सक्ने राजनीतिक शक्ति राप्रपा नै हो भन्ने विश्वास जगाउने स्पष्ट वैचारिक मार्गदर्शन, सुदृढ सङ्गठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना आगामी महाधिवेशनले प्रस्तुत गर्नुपर्छ। यही मार्गबाट मात्रै राप्रपाले जनविश्वास पुनः प्राप्त गर्दै राष्ट्रिय राजनीतिको केन्द्रमा आफ्नो भूमिका स्थापित गर्न सक्नेछ।