५ असार २०८३, शुक्रबार
,
Latest
नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने बजेट चुहावट र कर छलीको छानबिन गर्न संसदीय समितिको माग गर्दै शाहीले भने: अनुहार फेरिए…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारका पछिल्ला गतिविधिले संवैधानिक मर्यादा, मुलुकको सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै संवैधानिक निकायको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउनु भयो ।

विशेष समय लिएर बोल्दै सांसद ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई नौ घण्टासम्म नियन्त्रणमा लिएर दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

ओलीले राज्यका विभिन्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा निजी सचिवालयको प्रभाव अस्वाभाविक रूपमा बढेको उल्लेख गर्दै यसले स्थायी प्रशासनिक संयन्त्रलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो। उहाँले विधि र प्रक्रियाभन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने प्रवृत्तिले संस्थागत स्मृति र प्रशासनिक निरन्तरतामा गम्भीर सङ्कट पैदा गरेको जिकिर गर्नुभयो ।

कुटनीतिक क्षेत्रमा समेत सरकारको भूमिका फितलो देखिएको भन्दै ओलीले नेपालको दशकौँदेखिको प्रतिष्ठामा आघात पुगेको बताउनु भयो । कुटनीतिक नियोगका प्रतिनिधिहरूको मर्यादामा प्रश्न उठ्ने गरी व्यवहार भएको भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि धुमिल हुन सक्नेप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि यो समाचार असत्य हो भने सरकारले तत्काल खण्डन गर्नुपर्छ, यदि सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो । परराष्ट्रमन्त्रीले दूतावासको रिपोर्टलाई मात्र आधार मानेर वास्तविकतालाई नजरअन्दाज गर्नुभएको छ, हामीसँग भएका प्रमाणहरू मन्त्रालयमा पेश गर्न तयार छौँ ।’

यसैगरी, परराष्ट्रमन्त्रीले अघिल्लो दिन संसदमा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै ओलीले कुवेतको सफर जेलमा रहेका नेपाली महिलाहरूको सङ्ख्याबारे मन्त्रालयको तथ्याङ्क गलत रहेको दाबी गर्नुभयो ।

परराष्ट्रमन्त्रीले सात जना मात्र महिला जेलमा रहेको बताए पनि आफूसँग २४ घण्टाअघि मात्रै सोही जेलबाट फर्किएका नेपाली चेलीहरूको प्रत्यक्ष प्रमाण रहेको उहाँले बताउनु भयो । उहाँले राज्यका संस्थाहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने भन्दै सरकारलाई व्यक्ति केन्द्रित शासन छोडेर विधि र संस्थागत उत्तरदायित्वको बाटोमा फर्कन आग्रह गर्नुभयो ।