७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलका कर्मचारीको सेटिङ: भिजिट भिसामा कामदार पठाउने अध्यागमनका १३ कर्मचारी विरुद्ध अख्तियारमा मुद्दा



अ+ अ-

काठमाडौं । अध्यागमन कार्यालयकै कर्मचारीको मिलेमतोमा गैरकानुनी बाटोबाट विदेशमा नेपाली कामदार पठाइने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न भएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर उनीहरूले कामदारलाई प्रस्थान अनुमति दिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

२४८ जनालाई दिइयो प्रस्थान अनुमति
अख्तियारका अनुसार विमानस्थलका कर्मचारीसँगको मिलेमतोमा दुई सय ४८ जनालाई प्रस्थान अनुमति प्रदान गरिएको थियो । भिजिट भिसाका नाममा सरकारले प्रतिबन्ध लगाएका कामका लागि घरेलु कामदारलाई अध्यागमन प्रस्थान अनुमति दिइएको हो । गत १५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले चलाखीपूर्ण तरिकाले लाइनमा रहेका करिब २० जना महिला यात्रुको कागजातै नहेरी अध्यागमन प्रस्थान अनुमति दिएको उजुरी अख्तियारमा परेको थियो ।

‘ड्युटी’मा रहेकै अवस्थामा तार थुतेर डेस्कमा रहेको कम्प्युटर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै शंकास्पद व्यक्तिलाई बारम्बार सम्पर्क गरी मिलेमतोमा ती महिलालाई प्रस्थान अनुमति दिएको सूचना अख्तियारले प्राप्त गरेको थियो । पराजुलीले प्रयोग गर्ने मोबाइलको ‘कल रेकर्डस्’ तथा अन्य संकलित प्रमाण र तथ्यका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट पराजुलीसहित १३ जना अध्यागमन अधिकृतबीच म्यासेज आदानप्रदान गरी दुई सय ४८ जनालाई प्रस्थान अनुमति दिने काममा मिलेमतो भएको ठहर अख्तियारले गरेको छ ।

अध्यागमन प्रस्थान अनुमति प्रदान गरेबापत कर्मचारीले २४ लाख ८० हजार रुपैयाँ गैरकानुनी लाभ लिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । प्रस्थान अनुमति दिएबापत ती कर्मचारीले प्रतिव्यक्तिबाट १० हजार रुपैयाँका दरले रकम लिने गरेका थिए । एक सय ९९ जनालाई मिलेमतो र ४९ जनालाई पराजुली एक्लैले प्रस्थान अनुमति दिएका थिए । ती महिलाहरूलाई प्रस्थान अनुमति दिइएको अभिलेख विमानस्थलसँग नरहेको अख्तियारले जनाएको छ ।

बिचौलियासमेतको ‘सेटिङ’मा महिलालाई प्रतिबन्धित मुलुकमा पठाउने काममा संलग्न कर्मचारीमा पराजुलीसहितका अध्यागमन अधिकृतहरूमा मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपालीलगायत छन् । त्यस्तै, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं र कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपाने रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

विशेष अदालतमा मुद्दा दायर
मिलेमतोमा गलत लिखत सिर्जना हुने गरी अध्यागमन प्रस्थान अनुमति दिएर अनुमति दिने अधिकारीको पहिचान र अध्यागमन कार्यालयको आइएमएमआई प्रणालीमा अभिलेखसमेत लोप गरी अध्यागमन प्रस्थान अनुमति प्रदान गरी भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १२ बमोजिम अख्तियारले ती कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय गरी अख्तियारले आरोपिविरुद्ध घुसबापत लिएको २४ लाख ८० हजार रुपैयाँसमेत असुल गरी जफत गर्नुपर्ने अख्तियारको मागदाबी छ । यसैगरी, गलत लिखत सिर्जना हुने गरी प्रस्थान अनुमति प्रदान गरेको तथा अभिलेखसमेत नराखी वा नरहने गरी सार्वजनिक निकायमा रहने प्रमाणसमेत लोप हुने गरी प्रमाण नष्ट गराएको भन्दै ऐनको दफा ९ र १२ बमोजिम सजाय हुनुपर्ने दाबी अख्तियारको छ ।

शंकास्पद व्यक्तिमाथि थप अनुसन्धान हुँदै
गैरकानुनी रूपमा अध्यागमन प्रस्थान अनुमति दिएर विदेश पठाउने कार्यमा संलग्न अन्य व्यक्तिउपर थप अनुसन्धान चलिरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘यो घटनामा संलग्न अन्य शंकास्पद व्यक्तिमाथि अनुसन्धान चलिरहेको छ,’ उनले भने । वैदेशिक रोजगारमा जान चाहने युवा–युवतीलाई विभिन्न प्रलोभन देखाएर प्रचलित कानुनले श्रम स्वीकृति प्रदान गर्न रोक लगाएका घरेलु कामदारलगायत कामका लागि खाडी मुलुकमा पठाई बिचौलियाले अलपत्र पार्ने गरेको र यस्ता गतिविधिमा विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्नता रहेको जस्ता गुनासो बढेपछि अख्तियारले त्यसतर्फ अनुुसन्धान अघि बढाएको थियो । नयाँ पत्रिका दैनिकबाट