२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति



default
अ+ अ-

म्याग्दी। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ ।

विसं २०६६ मा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरेको आयोजना लक्ष्यअघि नै सम्पन्न भएको हो । मार्ग खुलेदेखि हालसम्म यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो ।

प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आवमा रु एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार ४३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको थियो । आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा १५ दिनअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताउनुभयो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद कम्पनीले लिएको जिम्मेवारी समयमै पूरा गरेको उहाँले बताउनुभयो ।

तीन दशमलव पाँचदेखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ । फराकिलो पारेपछि करिब ५०० मिटर दूरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण गरिएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताउनुभयो ।

“यस आयोजनामार्फत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्याबियन जालीको पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गर्ने सम्झौता भएको थियो”, उहाँले भन्नुभयो “प्राविधिक टोलीबाट नापजाँच र मूल्याङ्कनको चरणमा रहेको छ ।”

यसअघिको वर्षमा थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिका–४, २, र ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् ।

यो मालिका गाउँपालिकाको चालु आवको प्राथमिकताप्राप्त आयोजना भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताउनुभयो । रासस