२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने



अ+ अ-

काठमाडौँ। विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तरराष्ट्रिय योग दिवसका अवसरमा पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमिका रूपमा विश्वसामु चिनाउने उद्देश्यसहित कैलाश–मानसरोवरमा विशेष योग अभ्यास कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देशका रूपमा स्थापित गर्नाका साथै यहाँको प्राचीन योग, तपस्या, ध्यान तथा आध्यात्मिक सभ्यतालाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु हो ।

योग दिवस मनाउन सहभागी टोली असार ३ गते कैलाश–मानसरोवरतर्फ प्रस्थान गर्नेछ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक योग तथा ध्यान अभ्यास गरिने कार्यक्रम तय गरिएको छ ।

“भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तरराष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो,” अध्यक्ष शर्माले भन्नुभयो, “हिमालयको मौन सौन्दर्य र कैलाश–मानसरोवरको पवित्र वातावरणमा योग केवल शारीरिक अभ्यास मात्र नभई आत्मिक जागरण र शान्तिको मार्ग बन्ने हाम्रो विश्वास छ ।”

कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न देशका योगी, ध्यान साधक, योग प्रशिक्षक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियानकर्मी गरी एक सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

समाजका शाखा तथा साधना केन्द्र नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा सञ्चालनमा रहेका छन् ।

आयोजकका अनुसार कैलाश–मानसरोवरमा हुने अन्तरराष्ट्रिय योग यात्रा तथा साधनाले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन तथा अन्तरराष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग पुग्नेछ । साथै युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्न पनि कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’का रूपमा विश्व समुदायमा स्थापित गर्न मद्दत पुग्ने तथा विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तरराष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन थप टेवा पुग्ने आयोजकको विश्वास रहेको छ । रासस