१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र



अ+ अ-

खोटाङ।  जिल्लाको जन्तेढुङ्गा गाउँपालिका-३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन् ।

उक्त विद्यालयमा गरिब, दलित र असाहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यस विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत रहेकामा दुई जनाले शुल्क तिरेर अध्ययन गरिरहेका विद्यालय प्रशासनले जनाएको छ ।

विसं २०१४ मा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको विद्यालयका शिक्षक जीवन राईले बताउनुभयो । उक्त कार्यक्रमअन्तर्गत कक्षा २ मा दुई, कक्षा ३ मा एक, कक्षा ४ मा सात, कक्षा ५ मा पाँच, कक्षा ६ मा चार, कक्षा ७ मा आठ जना र बाँकी कक्षा १० मा रहेका उहाँले जानकारी दिनुभयो ।

“विद्यालयमा सञ्चालित यस कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी अध्ययनरत छन्”, उहाँले भन्नुभयो, “चाडपर्व तथा विशेष अवसरमा उनीहरूहसँगै बसेर मनोरञ्जन गर्छौँ । आवासी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएपछि दुई जना विद्यार्थीका अभिभावकले शुल्क तिरेर राख्नुभएको छ ।”

विद्यालयमा सञ्चालित आवासीय शिक्षा कार्यक्रममा उदयपुरका एक जना बेसहारा विद्यार्थीसमेत अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिनुभयो । “आवासमा बस्ने विद्यार्थीका लागि तीन वटा कक्षाकोठालाई आवासका रूपमा प्रयोग गरिएको छ । यो कार्यक्रममा १० जना छात्रा छन्”, उहाँले भन्नुभयो, “आवासमा बस्ने विद्यार्थीलाई आवश्यकताअनुसार समूहमा विभाजन गरेर छुट्टाछुट्टै राखिएको छ । रेखदेख, पठनपाठन तथा खेलकुदका लागि २४सै घण्टा समय दिने गरेका छौँ ।”

कक्षा १० सम्म पठनपाठन हुने यो विद्यालयमा सञ्चालित आवास शिक्षा कार्यक्रमका लागि प्रधानाध्यापकसहित दुई जना शिक्षक र एक जना कर्मचारीको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला राईले जानकारी दिनुभयो । “विद्यालय सञ्चालनमा सुरुका दिनमा चुनौतीपूर्ण थियो । गाउँपालिकाले उपलब्ध गराउने बजेट समयमा निकासा नहुँदा व्यवस्थापनमा चुनौती थियो”, उहाँले भन्नुभयो, “आवासीय विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले २४सै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्दै आउनुभएको छ ।”

यहाँका गरिब, दलित र असाहाय बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन गाउँपालिकाको लगानीमा निःशुल्क आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले बताउनुभयो । “गरिब, दलित र असाहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि गाउँपालिकाबाट हरेक वर्ष रु १८ लाख बजेट उपलब्ध हुन्छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम छोटो समयमा प्रभावकारी बन्दै गएको छ ।”

गाउँपालिकाको लगानीमा गरिब, दलित र असाहाय बालबालिकालाई लक्षित गरेर सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष लाभान्वित भएका स्थानीयले बताएका छन् । आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रूपमा रु ४० हजार उपलब्ध गराएर यस कार्यक्रममा सहभागी हुनसक्ने विद्यालय प्रशासनले जनाएको छ ।

शिक्षा क्षेत्रको सुधारमा क्रियाशील उक्त गाउँपालिकाले चार वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा निःशुल्क अध्ययन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामा फर्किएर काम गर्ने सहमतिमा छ जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।