२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो



अ+ अ-

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’का रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।

“हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यावहारिक र जीविकोपार्जनसँग सम्बन्धित शिक्षा दिन सुरु गरेका छौँ”, राष्ट्रिय सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको वडागत विकास तथा सामाजिक कार्यको स्थलगत अवलोकन कार्यक्रममा उहाँले भन्नुभयो, “शुक्रबारलाई ‘बुक फ्रि डे’ बनाएर फरक ढङ्गबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेका छौँ ।”

प्रवक्ता आचार्यले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गर्नुभयो । “अहिले सामुदायिक विद्यालयमा भर्ना नै नपाउने अवस्था बनेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको चाप अत्यधिक बढिरहेको छ ।”

मध्यपुरथिमि नगरपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका आचार्यले वडा कार्यालयले भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सुरक्षा, स्वास्थ्योपचार, शिक्षा तथा अन्य जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउन विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा केन्द्रिकृत भान्छाघर सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय दिवा खाजा खुवाउँदै आइरहेको छ । त्यसका लागि नगरपालिकाले ‘केन्द्रिकृत भान्छाघर सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ ।

प्रत्येक विद्यालयमा दिवा खाजा तयारीका लागि अलगअलग भान्छाको व्यवस्था गर्दा समय, श्रम र लागत बढ्नाका साथै गुणस्तरमा एकरूपता कायम गर्न कठिन हुने भएकाले एकीकृत भान्छाघर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

गुणस्तरीय दिवा खाजा कार्यक्रमले अभिभावक र विद्यार्थीलाई ठूलो राहत भएको प्रवक्ता आचार्यले बताउनुभयो । “यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि आफ्ना छोराछोरीलाई के खाजा पठाउने भन्ने चिन्ता हटेको छ”, उहाँले भन्नुभयो ।

सो कार्यक्रमबाट सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षा (इसिडी) देखि ५ सम्म अध्ययनरत करिब दुई हजार ८०० विद्यार्थी लाभान्वित भएका छन् । विद्यार्थीलाई दैनिक फरक–फरक पोषणयुक्त खाजा खाद्य निरीक्षकको निगरानीमा वितरण गरिँदै आइएको छ ।

यस कार्यक्रमले बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव परिरहेको नगरपालिकाको दाबी छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छ हजार ५०० बढी विद्यार्थीको दुर्घटना बिमाको कार्यक्रम पनि अघि सारेको छ । रासस