३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गएको बताएका छन्। उनले वर्तमान अवस्थामा पार्टीलाई पुनः सशक्त बनाउन सबै पक्षबीच एकता अपरिहार्य रहेको धारणा राखे।

विराटनगरमा कांग्रेस इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी दुई धारमा विभाजित हुँदा संगठनात्मक शक्ति कमजोर भएको बताए। उनले एकताका लागि कुनै एक पक्षले मात्र होइन, दुवै पक्षले लचकता अपनाउनुपर्ने उल्लेख गरे।

लामो समयपछि विराटनगरस्थित कोइराला निवासमा उपस्थित भएको स्मरण गर्दै उनले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले जनताको हितलाई केन्द्रमा राखेर राजनीति गरेको चर्चा गरे। वर्तमान नेतृत्व र कार्यकर्ताले पनि राजनीति कसका लागि गरिरहेका छन् भन्ने विषयमा आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।

कोइरालाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको महत्वपूर्ण चरण पार गरेको स्मरण गर्दै अहिले पार्टी नेतृत्व सही दिशाबाट विचलित भएको आरोप लगाए।

उनले महामन्त्री गगन थापाप्रति संकेत गर्दै कुनै एक व्यक्तिले मात्रै पार्टी सञ्चालन गर्न नसक्ने टिप्पणी गरे। सबै नेताहरूलाई समेटेर अघि बढ्न नसके कांग्रेस थप कमजोर हुने उनको चेतावनी थियो।

आन्तरिक कलह र विभाजनलाई दुर्भाग्यपूर्ण अवस्था भन्दै कोइरालाले आठ दशकको इतिहास बोकेको कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई समेत असर पर्ने बताए। उनले सर्वोच्च अदालतको निर्णयका कारण उत्पन्न भएको नेतृत्व विवादले पार्टीलाई थप क्षति पुर्‍याएको दाबी गरे।

कांग्रेस अहिले दोस्रो दलमा सीमित भएकोमा चिन्ता व्यक्त गर्दै उनले गाउँस्तरसम्म अझै पनि कांग्रेसप्रति जनसमर्थन कायम रहेको बताए। तर पार्टीभित्रको असमझदारीका कारण त्यसको राजनीतिक लाभ लिन नसकिएको उनको भनाइ थियो।

संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रको उज्ज्वल भविष्यका लागि कांग्रेसका सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए।