काठमाडौं: सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले लामो समयदेखि भारतले चिया निर्यात ठप्प पारेको भन्दै समस्या समाधान नभए यही असार १ गतेदेखि इलामका सम्पूर्ण चिया उद्योगहरु बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्सले एक विज्ञप्ति प्रकाशन गरी नेपाली चियाले विगतका वर्षहरुदेखि नै निर्यातमा विभिन्न समस्या भोग्दै आएको बताउँदै हालै मात्र भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा झन् ठूलो बाधा पुगेको जनाएको छ ।
नेपालका इलाम, झापा, पाँचथर, तेह्रथुम लगायतका जिल्लाबाट अर्थोडक्स, सिटीसी लगायतका ब्रान्डका चिया उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अधिकांश चिया भारततर्फ निकासी हुने गरेको छ । अर्बौं लगानी भएको चिया खेतीमा अहिले हजारौं व्यक्तिले रोजगारी पाइरहेका छन् ।
केही समयदेखि विभिन्न प्रकारका गुणस्तर जाँच, जोखिमपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरुका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन सकिरहेको छैन।
जटिल गुणस्तर जाँचका बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था पनि विज्ञप्तिमा उल्लेख छ।
नेपालका उद्योगहरुमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ भन्दै विज्ञप्तिमा भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि नदिएको तथा यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएको जनाइएको छ ।
यी अनेकौं समस्याहरूका कारण उद्योगहरुले किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको बताउँदै विज्ञप्तिमा यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौँ भनिएको छ ।
विज्ञप्तिमा सम्पूर्ण उद्योगहरू यही असार १ गतेदेखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराइएको छ ।
यस दु:खद परिस्थितिबाट चिया किसान दाजुभाइ तथा दिदीबहिनीहरु, व्यवसायीहरू र उद्योगीहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं भन्दै यो गम्भीर समस्याको उचित निकासका लागि सबै पक्षबाट साथ, सहयोग र ऐक्यबद्धता जनाइदिन अपिल गरिएको छ ।
उनीहरुले चिया उद्यमीहरु, चिया श्रमिकहरु, चिया सरोकारवाला संघ–संस्थाहरु, सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी एवं स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगका लागि अपिल गरेका छन् ।
नेपालमा बालेन्द्र शाह नेतृत्वमा गठित सरकारले भारतबाट आयात भइरहेका तरकारी र फलफूलमा कडाई गरेलगत्तै भारतले अघोषित रुपमा नेपाली चियाको निकासीमा अबरोध गरेको कतिपय व्यवसायीको भनाई छ ।










