• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बिजुलीको खम्बा नसार्दा सडक निर्माणमा ढिलाइ



टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक विद्युत् खम्बा नसार्दा सडक निर्माणमा समस्या हुन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारणलाइनका कारण टीकापुरमा निर्माण भइरहेको छ लेन सडकको काम प्रभावित बनेको हो । सडक क्षेत्रभित्र ३३ केभी अन्तर्गतका १४ वटा खम्बा परेका छन् । त्यहाँ सात वटा टावर र सातवटा टिबलर खम्बा रहेको नेपाल विद्युत् प्राधिकरण टीकापुरका छोटेलाल यादवले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको रु २८ करोडको योजनामा रु १३ करोडको बोलपत्रमार्फत निर्माण भइरहेको टीकापुर नगरपालिका–१ जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटरमा छ लेन सडक निर्माण भइरहेको छ । यसको निर्माण रमण केएस जेभीले शुरु गरेको छ । अहिले सडकमा माटो भर्ने र सम्याउने काम भइरहेको छ ।

सडक निर्माणमा कार्यरत इञ्जिनीयर गगन शाहीले काममा निकै समस्या भइरहेको बताउँदै बारम्बार पत्राचार गर्दा पनि विद्युत् कार्यालयले प्रसारणलाइन हटाउने बारेमा वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत समस्याका बारेमा जानकारी दिएको भन्दै दुई वर्षभित्र सक्नुपर्ने काममा विद्युत्को खम्बा नसारेकै कारण ढिलाइ हुनसक्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख हिमांशु यावद भने यस बारेमा लिखितरूपमा कुनै जानकारी नआएको बताउनुभयो । उहाँले केही व्यक्तिले फोनमै सोधेको र आफूले फोनबाटै जवाफ दिएको बताउनुभयो ।

तत्कालीन अवस्थामा टीकापुर नगरपालिका–१, ब्लक नं–११ स्थित कार्यालयसँगै रहेको सव–स्टेशनसम्म पुर्याउन ३३ केभी लाइनबीच बजारबाटै ल्याइएको थियो । तर, केही वर्षअघि सव–स्टेशन मुनुवा रोडस्थित खाध्य गोदाम नजिकै सारिएको छ । बजार क्षेत्रको ३३ केभीए विद्युत् लाइनसँंगै अन्य स–साना विद्युत्लाइनसमेत हटाउनुपर्ने देखिएको छ । निर्माण कम्पनीले विद्युत् खम्बाका कारण काम गर्न समस्या भइरहेको भन्दै निर्माणको काममा समेत सुस्तता देखाएको छ । विद्युत् खम्बाको समस्या देखाएर काम लम्ब्याउने ठूलो आधार निर्माण कम्पनीले पाएको स्थानीय व्यापारी विकास चौधरीले बताउनुभयो ।